पुसमा दुई फिल्म प्रदर्शन

हिमाल प्रेस २ पुष २०८१ १४:५१ | Tuesday, December 17, 2024
पुसमा दुई फिल्म प्रदर्शन

काठमाडौँ- गत दसैँदेखि मंसिरसम्म नेपाली फिल्म प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ। विदेशी फिल्मको प्रभाव, चिसो अत्याधिक भएकाले पुसमा कम नेपाली फिल्म प्रदर्शन हुन्छ भन्ने भाष्य छ।

यसवर्ष पुस ५ मा ‘बम बहादुर’ र पुस २६ मा ‘कार्साङ्’ प्रदर्शन हुने घोषणा गरिएको छ। गतवर्ष २०८० सालको पुसमा एक मात्र नेपाली फिल्म प्रदर्शन भएको थियो।

यसअघि सातामा दुईदेखि तीन फिल्मसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन्। आगामी पुस ५ मा प्रदर्शन हुने फिल्म ‘बम बहादुर’ मा भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संघर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए।

उनका अनुसार फिल्ममार्फत सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई पर्दामा प्रस्तुत गरिएको छ।

‘फिल्मको विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ। फिल्मको मुख्य पात्र बम बहादुरको संघर्षमय जीवनको कथा हो। कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ।

सोही कारण दर्शकले हाम्रो फिल्मको प्रचार गर्नेमा विश्वस्त छौँ’, निर्देशक राईले भने। फिल्ममा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन्।

‘बम बहादुर’ काे ट्रेलर

यस्तै,  पुस २६ मा फिल्म ‘कार्साङ’ प्रदर्शन हुँदैछ। फिल्म शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिए। उनले भने, ‘फिल्ममा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिश गरेका छौँ। यसको कथा गाउँले जीवन र परिवेशका भए पनि हामीले देखिरहेका भन्दा भिन्न छ, सोही कारण यसमा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ।’

निर्देशक शेर्पा दर्शकलाई फिल्म मन पर्नेमा विश्वस्त छन्। फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्।

पुस जाडोको समय भएकाले विगतदेखि नेपाली फिल्म प्रदर्शनका लागि रोजाइमा नपर्ने गरेको फिल्म वितरणमा सक्रिय करण श्रेष्ठले बताए। ‘पुसमा ठूला विदेशी फिल्म प्रदर्शन हुने गरेको छ। नेपालमा जाडोको समयमा फिल्म भवनसम्म दर्शक कम पुग्छन् भन्ने मान्यता छ, सोही कारण निर्माताले प्रदर्शनका लागि यो महिना रोजेको पाइँदैन’, उनले भने, ‘विदेशी फिल्मले भने यो समयमा बढी व्यापार गरिरहेका हुन्छन्।’

‘कार्साङ’ काे टिजर

प्रकाशित: २ पुष २०८१ १४:५१ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast