पूजाको उत्कृष्ट प्रदर्शनमा नेपालको शानदार जित

हिमाल प्रेस २७ कार्तिक २०८१ १५:२०
48
SHARES
पूजाको उत्कृष्ट प्रदर्शनमा नेपालको शानदार जित

काठमाडौँ- कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६४ रनको फराकिलो जित दर्ता गरेको छ। जितसँगै नेपाल पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र १०६ तथा कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो।

पाँचौं खेलमा पराजित कुवेत अंकविहिन छ। यसअघि कुवेत युईसँग १०६ र १८४ तथा थाइल्यान्डसँग २० रनले पराजित भएको थियो। युएईको द सेभेन रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै समेटियो।

कुवेतका लागि जिफा जिलानी ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि पूजा महतोले चार ओभरमा एक मेडनसहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिइन्। यसैगरी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतले अविजित १३० रनको योगदान दिइन्। यसैगरी सोनी पाख्रिनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाए।

तेस्रो विकेटका लागि पूजा र सोनीले अविजित १५७ रनको साझेदारी गरे। कुवेतका लागि जिफा जिलानी र रिलयन मारिया डी सुजाले समान एक विकेट लिए। अब नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोली यूएईको सामना गर्नेछ।

प्रकाशित: २७ कार्तिक २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast