रवि लामिछानेलाई मंगलबार रुपन्देही लगिने, रास्वपाले लुम्बिनी गेटमा प्रदर्शन गर्ने

हिमाल प्रेस २६ कार्तिक २०८१ २१:०४
20
SHARES
रवि लामिछानेलाई मंगलबार रुपन्देही लगिने, रास्वपाले लुम्बिनी गेटमा प्रदर्शन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही लगिने भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिने भएको हो।

सभापति लामिछानेलाई रुपन्देही लगिने भएपछि रास्वपाले मंगलबार भैरहवामा विरोधको तयारी गरेको छ। रास्वपाका अनुसार भैरहवाको लुम्बिनी गेटमा बिहान साढे ११ बजे प्रदर्शन गरिनेछ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा पुगेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान जारी छ।

आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमै राख्न म्याद थपको अनुमति दिएको छ। यो चौँथोपटक म्याद थप गरिएको हो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ।

प्रकाशित: २६ कार्तिक २०८१ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast