जनकपुरधाम उपमहानगर र शैक्षिक संस्थाबीच छात्रवृत्तिसम्बन्धी विवाद, पठनपाठन ठप्प पार्ने चेतावनी

हिमाल प्रेस २६ कार्तिक २०८१ १९:१९
10
SHARES
जनकपुरधाम उपमहानगर र शैक्षिक संस्थाबीच छात्रवृत्तिसम्बन्धी विवाद, पठनपाठन ठप्प पार्ने चेतावनी

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको निर्णय गर्न नसक्ने अक्षमताका कारण शैक्षिक संस्थाहरूमा छात्रवृत्तिसम्बन्धी विवाद निम्तिएको छ। मेयर साहले उपमहानगरको छात्रवृत्तिसम्बन्धी कार्यविधिलाई उल्टाएर निर्णय गरेपछि उपमहानगरपालिका र शैक्षिक संस्थाहरूबीच छात्रवृत्तिसम्बन्धी विवाद निम्तिएको हो।

कार्यविधिविपरित छात्रवृत्ति उपलब्ध गराउन साहले पत्राचार गर्न लगाएपछि शैक्षिक संस्थाका सञ्चालकहरूले कक्षा ११ र १२ को पठनपाठन अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिएका छन्।

सोमबार हिसान, एनप्याबसन र प्याबसनले संयुक्त पत्रकार सम्मेलन गरेर उपमहानगरको निर्णयविरूद्ध आगामी सोमबारदेखि कक्षा ११ र १२ को पठनपाठन ठप्प पार्ने चेतावनी दिएका हुन्।

उपमहानगरले ‘छात्रवृत्ति कार्यविधि २०७४’ अनुसार छात्रवृत्ति उपलब्ध गराउन २०८१/०५/१३ मा पत्राचार गरे पनि गत कात्तिक १४ गते फरक किसिमको निर्णय गरी पुनः पत्र पठाएकोमा आफूहरूको आपत्ति रहेको पत्रकार सम्मेलनमा हिसानका धनुषा जिल्ला अध्यक्ष संजीव ठाकुरले बताए।

छात्रवृत्रि वितरण कार्यविधि २०७४ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी उपमहानगरले फरक ढंगबाट पत्राचार गर्नु लज्जास्पद रहेको उनले उल्लेख गरे।

‘छात्रवृत्ति वितरण कार्यविधि, २०७४’ मा नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्क लिन नपाउने व्यवस्था छ। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीसँग आफूहरू यीबाहेकका शुल्कमात्र लिइरहेको सञ्चालकहरूको भनाइ छ।

शैक्षिक संस्थाहरूले यही कार्यविधिअनुसार उपमहानगरले पठाएको सूचीअनुसार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने गरेको शैक्षिक सञ्चालकहरूले बताएका छन्।
तर, उपमहानगरले गत कात्तिक १४ गते पठाएको पत्रमा शैक्षिक संस्थाहरूलाई छात्रवृत्तिका लागि योग्यताप्राप्त विद्यार्थीहरूसँग रजिष्ट्रेसन शुल्क र परीक्षा शुल्कमात्र लिन पाइने भनिएको छ।

२०७४ को आफ्नै कार्यविधिविपरित उपमहानगरले मातहतका शैक्षिक संस्थाहरूलाई छात्रवृत्तिसम्बन्धमा पत्राचार गरेपछि उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।

नेविसंघसम्बद्ध विद्यार्थीहरूले ‘मेरो शिक्षा, मेरो प्रश्न’ कार्यक्रमअन्तर्गत निजी शैक्षिक संस्थाहरूको अनुगमन गरे पश्चात दबाबमा परेर मेयर साहले कार्यविधिलाई उल्टाएर फरक निर्णय गरेको शैक्षिक संस्थाका सञ्चालकहरूको ठहर छ।

मेयर साहले कार्यविधिभन्दा इतर गएर दबाबअनुसार निर्णय गर्न थालेपछि छात्रवृत्तिसम्बन्धी विवाद निम्तिएको जनकपुरधामस्थित मोडेल मल्टिपल क्याम्पसका सञ्चालक वीरेन्द्र साहले जानकारी दिए।

‘२०७४ को कार्यविधिअनुसार छात्रवृत्ति उपलब्ध गराउनु भनेर भदौ ५ मा हामीले पत्र प्राप्त गर्‍यौँ, सोहीअनुसार छात्रवृत्ति दिने निर्णय सबै शैक्षिक संस्थाहरूको छ,’ साहले भने,‘आफैंले पठाएको पत्रलाई चुनौती दिने गरी कार्यविधिविपरित फेरि अर्कोपत्र पठाइएको छ। यो पत्रअनुसार विद्यार्थीहरूलाई पढाउन सक्ने अवस्था छैन।’

चालु शैक्षिक सत्रमा भदौ १३ को निर्णयअनुसार नै शुल्क लिन र पछिल्लो समय भएको निर्णयको कार्यान्वयन आगामी शैक्षिक सत्रदेखि अन्य स्थानीय तहको अध्ययनपश्चात लागु गर्न शैक्षिक संस्थाहरूले उपमहानगरलाई ध्यानाकर्षण गराएको छ।

भदौ १३ मा भएको निर्णय कार्यान्वयन नभए कक्षा ११ र १२ को पठनपाठन पूर्ण रूपले ठप्प पार्ने चेतावनी निजी शैक्षिक संस्थाहरूले दिएका छन्।

प्रकाशित: २६ कार्तिक २०८१ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast