पाठ्यपुस्तकका त्रुटि सच्याउन केन्द्रलाई अनेरास्ववियुको ध्यानाकर्षण

हिमाल प्रेस २४ कार्तिक २०८१ २०:४८
68
SHARES
पाठ्यपुस्तकका त्रुटि सच्याउन केन्द्रलाई अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ- विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय तहका पाठ्यपुस्तकका त्रुटि सच्याउन पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ। अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटी इन्चार्ज धर्मराज तिमल्सिना नेतृत्व टोलीले शुक्रबार केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर ध्यानाकर्षण गराएको हो।

विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजारभन्दा बढी विद्यार्थी गलत पुस्तक पढ्न बाध्य हुनु परेको भन्दै अनेरास्ववियुले गम्भीर हुन आग्रह गरेको छ। पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लाका ३५ हजार ६ सय ७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर राज्यको लगानीमाथि गम्भीर घात गरेको,अभिभावकका सपना कुल्चिने दुष्प्रयास गरेको र विद्यार्थीको भविष्यसँग खेलबाड गरेको अनेरास्ववियुको भनाइ छ।

अनेरास्ववियुले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ,‘यसमा संलग्न जिम्मेवार, विषय समितिहरू, व्यक्तिहरू तथा संयन्त्रहरूको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ।’ तत्काल पाठ्यपुस्तकमा भए गरिएका कमजोरी सच्याउन र आवश्यक छानबिन गरी २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तक सच्याएर मात्र प्रकाशित र वितरण गर्न अनेरास्ववियुले आग्रह गरेको छ।

२०७८ सालको जनगणनाको अन्तिम नतिजा २०७९ चैत १० गते नै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्यांक राखिनु गलत भएको अनेरास्ववियुले जनाएको छ। यी लगायत पाठ्यपुस्तक धेरै त्रुटि भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ।

महानिर्देशक श्रेष्ठले शैक्षिक सत्र २०८२ मा कमजोरी सच्याएर पुस्तक आउने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast