बागलुङ-पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

हिमाल प्रेस २४ कार्तिक २०८१ ८:२९
12
SHARES
बागलुङ-पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-पूर्वी रुकुम सडक अधुरै रहेको छ।

निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका-६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका-१ रूपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो।

विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो। अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए। विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो।

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ। अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ।

म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउँछन्। सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो।

बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ। सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ।

सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका-१ का पृथमान गुरुङले बताए। ‘यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्’, उनले भने।

प्रकाशित: २४ कार्तिक २०८१ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast