पोखरामा फेरि आयो सिचुवान एयरलाइन्सको जहाज

हिमाल प्रेस २२ कार्तिक २०८१ १६:०७
158
SHARES
पोखरामा फेरि आयो सिचुवान एयरलाइन्सको जहाज पोखरा आइपुगेको सिचुवान एयरलाइन्सको जहाज। तस्बिर सौजन्यः राधिका कँडेल

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ दोस्रो पटक ल्यान्ड भएको छ। बिहीबार दिउँसो चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा आएको हो। पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा ओर्लिएको  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले जानकारी दिइन्।

उनका अनुसार जहाज चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडान भरेर आइपुगेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गतवर्षको असार ६ गते सिचुवानको न्यारोबडी एयरबस ३१९ ले नै पहिलो अन्तर्राष्ट्रिय उडान भरेर आएको थियो। त्यतिबेला पोखराको फेवातालमा पहिलोपटक भएको ‘ड्रागन बोट रेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चाटर्ड उडान भरेर आएको हो।

२०७९ पुस १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले धुमधामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। उद्घाटनको दिन हिमालयन एयरलाइन्सले डेमो उडान भरेको थियो। त्यसपछि असार ६ गते सिचुवान एयरलाइन्सको जहाजले चार्टड उडान भरेर पोखरा आयो। २०८० भदौ ३ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट  चार्टड उडान गरेर विमान पोखरा आयो। पोखराबाट पर्यटकले लिएर फर्कियो।

२०८० कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाको दुई कार्गो विमान पोखरामा ओर्लिए। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि रहात सामाग्री बोकेर ती दुई विमान पोखरा आएका थिए। २०८० मंसिर ७ गते चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले पोखरामा चाटर्ड उडान भरेको थियो। सरकारले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाइरहेको बताए पनि उडान भने भएका छैनन्।

प्रकाशित: २२ कार्तिक २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast