१९ राजदूत १० दिने प्रशिक्षणमा, सहभागी भन्छन्, मन्त्री राणाबाट के आश गर्नु?

हिमाल प्रेस २० कार्तिक २०८१ २१:४७
384
SHARES
१९ राजदूत १० दिने प्रशिक्षणमा, सहभागी भन्छन्, मन्त्री राणाबाट के आश गर्नु? परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले मंगलबार काठमाडौँमा सुरु गरेको प्रशिक्षणमा सहभागी प्रस्तावित र नियुक्त भएका राजदूतहरू। तस्बिर : हिमालप्रेस

काठमाडौँ- राजदूत नियुक्तिमा सिफारिस भएका र नियुक्त भइसकेकाहरूलाई सम्बन्धित मुलुकसँग नेपालको सम्बन्ध, प्राथमिकता, दुईपक्षीय, बहुपक्षीय कूटनीतिदेखि भोजभतेरमा सामेल हुँदा पालना गर्नुपर्ने ‘ड्रेसकोड’ तथा खानपिन गर्दा बस्ने शैलीका विषयमा प्रशिक्षण दिन थालिएको छ। एकै पटक धेरैवटा मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका कारण उनीहरूलाई मंगलबारदेखि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले प्रशिक्षण दिन थालेको हो।

डेढ दशकदेखि यसरी प्रशिक्षण दिने गरिए पनि बेलाबेलामा प्रशिक्षण नदिने र उपस्थित नहुने प्रचलन थियो। अहिले प्रशिक्षणमा अनिवार्य उपस्थित हुने व्यवस्था गरिएको छ। १० दिने प्रशिक्षणमा अस्ट्रेलियाका लागि सिफारिस भएकी पूर्वमन्त्री चित्रलेखा यादव अनुपस्थित भएकी छन्। उनीले भारत भ्रमणका कारण उपस्थित हुन नसकेको बताएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।

आईएफएको हलमा सुरु गरिएको प्रशिक्षणमा प्रशिक्षकका रूपमा पूर्वराजदूत, सम्बन्धित क्षेत्रका विज्ञ र स्तम्भकारहरू छन्। राजनीतिक दलको भागबन्डाबाट नियुक्त राजदूत र परराष्ट्रमा लामो समय काम गरेका कर्मचारीलाई कूटनीतिक विषयवस्तुमा स्पष्ट पार्न र सरकारको प्राथमिकता बुझाउन भन्दै प्रशिक्षण दिइएको हो।

पहिलो दिन परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूतलाई उनीहरूका कामकर्तव्यको सैद्धान्तिक तथा मुलुकैपिच्छे अपनाउनुपर्ने फरकफरक व्यवहारका विषयमा प्रशिक्षण दिएको सहभागी एक प्रस्तावित राजदूतले बताए।

कतिपय स्थानमा परराष्ट्रका कर्मचारीहरु अब्बल छन् भने कतिपय स्थानमा राजनीतिक दलबाट सिफारिस भएर नियुक्त भएकाहरू अब्बल देखिएका छन्। परराष्ट्रकाहरूले आफूलाई करिअर कूटनीतिज्ञ भन्ने गरे पनि उनीहरूको अनुभव परराष्ट्रमा १३-१४ वर्ष मात्र भएका पनि छन्। कतिपय तल्लो स्तरबाट आएको हुनाले सोच फराकिलो बनाउन नसकेको र मिसनलाई पैसा कमाउने थलो मान्ने प्रवृत्तिका छन्।

एक प्रस्तावित राजदूतले भने, ‘कूटनीतिमा अलिअलि अनुभव बटुल्न लागेकालाई एकैपटक सहसचिव बनाउने गरी अहिले दरबन्दी थपेर मन्त्रालयको गुणस्तरलाई संख्यामा परिवर्तन गर्न लागेकी परराष्ट्रमन्त्री राणाले के प्रशिक्षण दिइन् होला, आफैँ बुझ्नु न।’

मन्त्री राणा मन्त्रालय बनाउनभन्दा पनि भत्काउन आएको झैँ लाग्ने अनि मेलो न मेसो बोल्ने गरेको एक सहभागीले जानकारी दिए। ती सहभागीले भने, ‘मन्त्री राणाको कुरामा सहमति जनाए नरम हुने असहमत हुनेबित्तिकै जंगिने शैली कूटनीति होइन। पहिलो दिन यस्तैबाट प्रशिक्षण सुरु भयो। उहाँबाट अरू के आश गर्नु?’

२०१० मा परराष्ट्र सेवामा छिरेका अधिकृतहरू क्रमैसँग वृत्ति विकासमा लागेका थिए। एकै पटक धेरै दरबन्दी थप्दा त्यो वृत्ति विकासमा ठेस लागेको छ। गुणस्तरभन्दा पनि संख्यामा कर्मचारी बढेका छन्। स्थानीय कर्मचारी थपेर काम हुने स्थानमा केन्द्रबाट कर्मचारी पठाउने गरी काम हुनु दुःखद भएको परराष्ट्र अधिकारीहरूको धारणा छ। यस विषयमा अदालतमा मुद्दासमेत परिसकेको छ। चारजना प्रतिस्पर्धा गरेर तीनजना बढुवा हुने खालको काम भएकाले यसमा मुद्दा परेको हो।

विदेशमा रहेको दूतावास घटाएर मुलुकभित्रको आधार राम्रो बनाउनुपर्नेमा उल्टो दूतावास थप्ने र अनावश्यक स्थानमा सहसविच स्तरको महावाणिज्य दूतावास राख्ने काममा ध्यान दिनु राम्रो थिएन। गैरआवासीय नेपालीहरूलाई खुसी पार्न यस्ता कार्यहरू भएका छन्। पासपोर्ट वितरणमा कसरी सहजीकरण गर्ने भन्ने तर्फ नगएर यस्तो कार्य गर्नु आफैँमा दुःखद हो।

मन्त्री राणाले कुन मुलुकमा नेपालको कस्तो उपस्थिति आवश्यक छ त्यो पहिचान गरेर अघि बढ्न सबैलाई आग्रह गरेकी छन्। उनले नेपालको वर्तमान प्राथमिकता र त्यस मुलुकको नेपालप्रतिको चाहना बुझेर सहकार्यको बाटो खोजनसमेत आग्रह गरेकी छन्। पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले राजदूत भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए।

लोकदर्शन रेग्मी – अमेरिका, कृष्णप्रसाद ओली – चीन, शंकरप्रसाद शर्मा – भारत, चन्द्रकुमार घिमिरे – बेलायत, चित्रलेखा यादव- अष्ट्रेलिया, नरेशविक्रम ढकाल -साउदी अरेबिया, जंगबहादुर चौहान – रुस, कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका, धनप्रसाद पण्डित – इजरायल, रामकृष्ण भट्टराई – श्रीलंका, सनिल नेपाल – स्पेन, शैल रुपाखेती – जर्मनी, शिवमाया तुम्बाहाङ्फे- दक्षिण कोरिया, रमेशचन्द्र पौडेल – कतार, सुम्निमा तुलाधर – डेनमार्क, नेत्रप्रसाद तिमल्सिना – मलेसिया, प्रकाशमणि पोखरेल – पोर्चुगल, रीता धिताल – पाकिस्तान र सेवा लम्साल बेल्जियम गरी १९ जना राजदूत सिफारिस भएका छन्। तीमध्ये पाकिस्तानका लागि धितालको अग्रिमा मगाएर सहसचिव बढुवामा विज्ञापन निकाल्न तुरुन्तै नियुक्ति गरिएको थियो। नियुक्तिपछिको पुल दरबन्दीमा बढुवा असोज मसान्तभित्र निकाल्न त्यस्तो प्रयास भएको हो। सबैको संसदीय सुनुवाइ सकेर अग्रिमा प्रक्रियामा गएको छ। अग्रिमा आएपछि क्रमैसँग राजदूत नियुक्त हुनेछन्। राष्ट्रपतिसँग शपथ लिएर उनीहरू गन्तव्यमा जानेछन्।

त्यही क्रममा आईएफएले विभिन्न क्षेत्रका विज्ञ सामेल गराएर अन्तरक्रिया शैलीमा प्रशिक्षण दिएको हो। कतिपय यसरी प्रशिक्षणमा उपस्थित नहुने र कतिपय पूरै समय दिएर ज्ञान लिने गरेका थिए। यसैगरी अर्थविज्ञ, बहुपक्षीय कूटनीतिक क्षेत्रका विज्ञ, सञ्चार क्षेत्रका विज्ञ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेकाहरू, उद्यमी, कन्सुलर क्षेत्रमा काम गरेकाहरूले ड्रेस कोड, होटलमा खाना खाने बस्ने तरिकाबारे प्रशिक्षण दिइनेछ।

अन्तरक्रियात्मक प्रशिक्षण भएकाले दोहोर्‍याएर राजदूत भएकाहरू पनि प्रशिक्षणमा सहभागी छन्। ‘सबै क्षेत्र समेट्न खोजिएको छ, राम्रो प्रयास हो। राम्रा व्यक्ति ल्याएर अन्तरक्रिया गराउँदा राम्रै हुन्छ,’ एक सहभागीले भने, ‘आज मन्त्रीजीको र पूर्वसचिवको थियो। राम्रै भयो।’

प्रशिक्षणमा आफू खटिएको देशसँगको द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रीय संगठनमा नेपालको बलियो उपस्थितिका साथै राष्ट्रको आवश्यकता र प्राथमिकता ध्यान दिन जोड दिइएको थियो।

‘मुलुकको इज्जत राखेर चासो र खाँचो परिपूर्तिका लागि कूटनीतिक माध्यमबाट परिणाममुखी भई काम गर्नु राजदूतको दायित्व हो,’ आजका प्रशिक्षकको लाइन थियो।
राजदूत दम्पतीलाई पनि प्रशिक्षण दिने तयारी छ। कसरी कार्यक्रममा सहभागी हुने कार्यक्रम हुँदा कसरी आफू प्रस्तुत हुने र स्पाउजलाई कसरी सहयोग गर्ने बारे प्रशिक्षण दिन लागिएको हो।

राजदूतहरूलाई पछिल्लो विश्व परिवेशदेखि कूटनीतिका कुरासँगै चम्चा-काँटा प्रयोग, टेबुल ‘एरेन्ज’ जस्ता विषयमा प्रयोगात्मक प्रशिक्षण पनि दिने कार्यक्रम छ। राजदूत दम्पतीको आचरण र भूमिकाबारे पनि प्रशिक्षण हुनेछ। कार्यभार सम्हाल्न जानुअघि राजदूतलाई उनीहरूको कार्यादेश, काम, कर्तव्य र कार्यशैलीबारे स्पष्ट पार्न प्रशिक्षण दिने पुरानै प्रचलन हो।

उपस्थित नभएका राजदूतलाई फेरि प्रशिक्षण दिएर मात्र पठाइने तयारी परराष्ट्रको छ। आईएफएले पुनः एक दिन खर्चेर होटलका सम्बन्धमा व्यावहारिक ज्ञान दिनेछ। आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनु पर्ने जिम्मेवारी, कूटनीति आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकता जस्ता पक्षमा केन्द्रित रहने प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ। प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको निकाय हो।

प्रकाशित: २० कार्तिक २०८१ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast