लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पहिलो विदेश भ्रमण छिमेकी देश चीन हुने भएको छ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो। सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
सिचुआन प्रान्तमा समन्वय र विकासको बिषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ।
सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा रहनेछन्।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटर्वार्ता हुनेछ।
विसं २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त बीच भगिनी सम्बन्ध कायम गरिएको थियो। तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त बीच भगिनी सम्बन्ध कायम गरेका थिए।