विदेशी पर्यटकलाई सामूहिक भाइटीका [तस्बिरहरू]

विजय नेपाल १८ कार्तिक २०८१ २०:२२
90
SHARES
विदेशी पर्यटकलाई सामूहिक भाइटीका [तस्बिरहरू]

पोखरा- विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन्। होटल संघ पोखरा आयोजनामा आइतबार १७औँ संस्करणको भाइटीका महोत्सव भएको हो। १२ देशका ५६ जना पर्यटकले नेपाली दिदीबहिनीसँग सामूहिक भाइटीका लगाएको संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए। नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव संयोजकसमेत रहेका सुवेदीले जानकारी दिए।

लेकसाइडको होटल ल्यान्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए।

सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिएर सेलरोटीलगायतका परिकार पस्किएका थिए। सँगै देउसीभैलो र नाचगान कार्यक्रम पनि देखाए। सहभागी पर्यटक पनि नाचगानमा साथ दिँदै रमाए।

आफ्नो नेपाली नाम लीला राखेकी चिनियाँ पर्यटकले भाइटीका लगाउन पाउँदा प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन्।

महोत्सवमा भारत, चीन, स्पेन, जापान, भियतनाम, मंगोलिया, अस्ट्रेलिया, बेलायतलगायतका पर्यटकले भाग लिएका हुन्। यहाँको संस्कृति र रहनसहनबारे जान्ने मौका पाएकोमा पर्यटकले खुसी व्यक्त गरे।

घरमा जसरी दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ, त्यही तरिकाले पर्यटकलाई टीका लगाइदिने र तिहारबारे जानकारी दिँदै पर्यटकलाई दोहो¥याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास संघ अध्यक्ष सुवेदीले व्यक्त गरे।

संघका महासचिव ढकालका अनुसार नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रवर्धन गरेका थिए। गोर्खा बियर र ईसेवा होटल्सले महोत्सवलाई सघाएका थिए। पर्यटकको उपस्थिति बढेपछि तीन चरण गरेर टीका लगाउनुपरेको आयोजकले जनाएको छ।

यस प्रकारका कार्यक्रमबाट संस्कृति संरक्षणसहित पर्यटन प्रवर्धनमा सघाउ पुगेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेल बताउँछन्।

ह्वाइट कोरल स्पा एकेडेमीले पनि भाइटीका अवसरमा पोखरामा फेस्टिभल अफ लाइट आयोजना गरेको संचालक कमला गिरीले बताइन्। कार्यक्रममा करिब १५ जना विदेशी पर्यटकलाई एकेडेमीका छात्राहरूले सप्तरंगी टीका लगाएर नेपाली शैलीको सगुन पस्केका थिए। उनीहरूले फेरि फेरि पनि नेपाल आउँदा भाइटीकामा सहभागी हुने वचन दिएका थिए। लेकसाइड स्ट्रिट नम्बर ११ मा रहेको उक्त एकेडेमी कमला गिरी र निशा बुढाले संचालन गरेका हुन्। लेकसाइडकै वरपीपल रिसोर्टले पनि भाइटीका कार्यक्रममा उल्लेख रूपमा विदेशी पर्यटक पुगेका थिए।

 

प्रकाशित: १८ कार्तिक २०८१ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast