गौचनको अन्तिम श्रद्धाञ्जली तस्बिरमा

विजय नेपाल १ मंसिर २०८१ १२:३५ | Saturday, November 16, 2024
गौचनको  अन्तिम श्रद्धाञ्जली तस्बिरमा

पोखरा- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको गण्डकी प्रदेशसभामा शनिबार बिहान भावपूर्ण बिदाइ गरिएको छ।गृहजिल्ला म्याग्दीमा अन्त्येष्टि गर्नुअघि एम्बुलेन्समार्फत शव ल्याएर शनिबार बिहान पोखरा नदीपुरस्थित प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

बिहान ७ देखि ९ बजेसम्म भएको श्रद्धाञ्जली सभामा विभिन्न दलका नेता, कार्यकर्ता, परिवारजन, आफन्त, शुभचिन्तक, थकाली सेवा समितिका प्रतिनिधि लगायतको उपस्थिति थियो। सहभागी अधिकांशको आँखा रसाएका थिए। उनको पार्थीव शरीरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री, उपसभामुखले राष्ट्रिय झन्डा ओढाएका थिए।

त्यसअघि नेपाली कांग्रेस प्रदेश समितितर्फबाट प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछानेलगायतले पार्टीको झन्डा ओढाएका थिए भने थकाली सेवा समितिले समाजको झन्डा ओढायो।

बेनीस्थित घरमा परिवार र आफन्तजन तथा संघसंस्थाले अन्तिम श्रद्धाञ्जली दिने छन् भने घाटमा पार्टीले अन्तिम श्रद्धाञ्जली गर्नेछ।

आइतबार अन्त्येष्टि गर्ने परिवारजनको यसअघि योजना थियो। त्यसका लागि गण्डकी प्रदेश सरकारले हेलिकोप्टर व्यवस्थापन गरी आइतबार बिहान प्रदेश सभामा राखेर बेनी लैजाने तयारी थियो। तर, परिवारजनले झाँक्री विधिबाट किरिया गर्ने निर्णय गरेको र सोबमोजिम २ भन्दा १ गते (शनिबार) नै गर्नुपर्ने झाँक्रीको सुझावबमोजिम अन्त्येष्टि कार्यक्रम तय भएको प्रदेशसभा सदस्यसमेत रहेका गौचनका आफन्त विकल शेरचनले बताए।

शुक्रबार गौचनको शव काठमाडौँ थकाली सेवा समितिमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। अमेरिकामा रहेका उनका छोराबुहारी शुक्रबार नै आएका छन्।

सांसद गौचनका एक छोरा र एक छोरी हुन्। पति राम गौचनको केही वर्षअघि निधन भएको थियो। २०१८ सालमा मुस्ताङमा जन्मिएकी सांसद गौचन २ वर्षअघि कांग्रेसबाट समानुपातिक सांसद चुनिएकी थिइन्। डेंगुबाट संक्रमित ६३ वर्षीया गौचनलाई काठमाडौँ ग्राण्डी हस्पिटल भर्ना गरिएको थियो। बिहीबार उनलाई एक्कासि हृदयघात भएको हो।

प्रकाशित: १ मंसिर २०८१ १२:३५ | Saturday, November 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast