सबैलाई समेटेर चाँडै नेतृत्वदायी वैकल्पिक शक्ति बनाउँछौँ

डा. बाबुराम भट्टराई ४ कार्तिक २०८१ १८:०५
124
SHARES
सबैलाई समेटेर चाँडै नेतृत्वदायी वैकल्पिक शक्ति बनाउँछौँ

कात्तिक ५ र ६ गते पर्यटकीय राजधानी पोखरामा नेपाल समाजवादी पार्टीको विधान अधिवेशन गर्दैछौँ। त्यसको तयारी पूरा भइसकेको छ। विभिन्न राजनीतिक धारबाट मूलतः दसबर्से जनयुद्ध, जनआन्दोलन हुँदै संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा संलग्न भएका मानिसहरू र त्यसपछि यताको नयाँ पुस्ता जोडिएर २०७३ जेठ ३० गते काठमाडौँको दशरथ रंगशालाबाट नयाँ शक्ति अभियानलाई नयाँ शक्ति पार्टीका रूपमा रूपान्तरण गरेका थियौँ त्यसैको निरन्तरता र परिवर्तित रूप नेपाल समाजवादी पार्टी हो।

धेरैलाई जिज्ञासा हुनुसक्छ, यो ८ वर्षको क्रममाः यसको विकासक्रम सोचेअनुरूप भएन भन्ने पनि हुनसक्छ। त्यो त तपाईँहरूले मूल्यांकन गर्ने कुरा हो। हाम्रो बुझाइ के छ भने नेपालको इतिहास लोकतन्त्रीकरणको जुन २००७ सालबाट सुरु भएर २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि पूरा भयो। त्यसपछि नेपाली समाज आर्थिक, सामाजिक रूपान्तरण, आर्थिक, सामाजिक क्रान्तिको नयाँ चरणमा प्रवेश गर्‍यो भन्ने हाम्रो विश्लेषण हो।

राजनीतिक दलहरू भनेका तत्कालीन समाजका अन्तर्विरोध, समस्या हल गर्ने साधान हुन्। दलहरू आफैँ साध्य होइनन् भलै अहिले राजनीतिक पार्टी भन्नेबित्तिकै केही मानिस जम्मा हुने, पार्टी गठन गर्ने अथवा विगतको विरासतबाट लाभ लिएर चुनाव जित्ने, सत्तामा पुग्ने र सत्ताको दोहन गर्ने, सत्तादेखि सत्ताको चक्र चलिरहेको छ। हामीले त्यसलाई तोडेर राजनीति भनेको समाजमा, देशमा मुख्य समस्या के हुन् त्यसलाई समाधान गर्नका निम्ति नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने साधन हो पार्टी भन्ने अर्थमा नयाँ शक्ति पार्टी निर्माण गरेका थियौँ।

त्यही क्रममा विभिन्न पक्षसँग एकता गर्दा ‘नाम’ मा परिवर्तन आयो होला तर लक्ष्य, नीति तथा कार्यक्रम नयाँ शक्ति हुँदा जे थियो अहिले पनि त्यही छ। अहिले मैले यो दृष्टिकोण किन राख्दैछु भने देशमा सरकार बनेका छन्, २० वर्षसम्म सत्तामा बसेका मानिस कोही पाँचचोटि प्रधानमन्त्री भएका छन्, कोही चारचोटि, कोही तीनचोटि प्रधानमन्त्री भएका छन्। पालैपालो भएका छन्। एउटा मानिस प्रधानमन्त्रीको कुर्सीमा पुग्न पाएको छैन अर्कोले खुट्टा तानेका छन्। तपाईँ-हामी जनता यस्तो तमासा हेरेर बस्न बाध्य छौँ।

नयाँ वैकल्पिक शक्ति भनेर फुत्तफुत्त मान्छे आइरहेका छन्। नीति तथा कार्यक्रमको बहसभन्दा केही मान्छेलाई देवत्वकरण गरेर अवतारीका रूपमा अवतरण गर्ने, त्यसबाट अपेक्षा गर्ने र अन्त्यमा पानीको फोका जसरी फुट्ने भइरहेको छ।

हामी यो दुश्चक्रलाई तोकेर देशमा भइरहेका अन्तर्विरोध र समस्या छन् वैचारिक, राजनीतिक सुव्यवस्थित ढंगले निरुपण गरेर विभिन्न कार्यक्रमसहित शक्ति निर्माण गर्ने अभियानकै क्रममा छौँ। हामीले देशका समस्या ‘पाँच स’ का रूपमा पहिचान गरेर त्यसको समाधानको बाटो भनेर संश्लेषण गरेका छौँ- समतामूलक समृद्धि, समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद, स्वाधीनता र सार्वभौमसत्ता, यो हो ‘पाँच स’।

मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र अहिले नयाँ भनिएका पार्टीले जुन संगठनात्मक सिद्धान्त, पद्धति अपनाएका छन् हामी त्यसैको दोहोर्‍याउँदै छौँ कि नयाँ गर्दैछौँ भन्ने सन्दर्भमा हामी नयाँ ढंगले जानुपर्छ।

नयाँ विचार र कार्यक्रम लागू गर्ने हो भने पार्टीको ढाँचा पनि नयाँ हुनुपर्छ भन्ने सन्दर्भमा विधानको खाका बनाएका छौँ। यसका मूलभूत कुरा तपाईँहरूलाई पछि थाहा भइहाल्छ। विधान अधिवेशनबाट यो पारित भइसकेपछि कात्तिक-मंसिरमा स्थानीय सम्मेलन गर्छौँ। पुसमा प्रदेशको अधिवेशन गर्छौं र माघमा महाधिवेशन गरेर यसलाई पूर्णता दिन्छौँ। हाम्रो यो लक्ष्य छ।

हाम्रो समाजले तुरुन्तै फलको अपेक्षा गर्छ। बिरुवा रोपेर हुर्केर फल लाग्ने समय, प्रक्रिया जुन छ त्यसमा मानिस धैर्य गर्न सक्दैनन्। केही वर्षयतादेखि बिरुवा रोपेर हुर्काउने प्रयत्न गरेका छौँ। त्यसको गति के भयो, कता हरायो भन्ने तपाईँहरूलाई लाग्नसक्छ। कुनै पनि चिजको विकासका निम्ति वस्तुगत र आत्मगत भूमिका हुन्छन्। त्यसमा ढिलोपन देखिएको कारण के हो भने २०७२ सालमा संविधानसभाबाट संविधान जारी भइसकेपछि नेपाली समाज नयाँ चरणमा प्रवेश गर्‍यो। ००७ सालपछि उदारवादी लोकतन्त्र धारका रूपमा नेपाली कांग्रेस थियो। अहिले त्यसको पनि आफ्नो सञ्जाल छ।

२००६ सालमै जन्मिएका कम्युनिस्ट पार्टीका विभिन्न घटकहरू पहिला एमालेका रूपमा रह्यो। पछि माओवादीका रूपमा। अहिले विभिन्न घटकका रूपमा छरिएका छन्। अर्कोचाहिँ कम्युनिस्टहरूको घटक। उनीहरूको आन्दोलनका क्रममा बनेको आधार थियो त्यसैको बलमा संगठनात्मक शक्ति छ। त्यसैले उनीहरू आलोपालो सत्तामा आइरहेका छन्। अहिलेको अर्को सानो धारका रूपमा सामन्तवादी धार, राजावादी धार, पश्चगामी धार छन्। जो परिवर्तनलाई रुचाउँदैनन्। आजभन्दा हिजै राम्रो थियो भनेर पछाडि फर्कने संसारमा जहाँ पनि हुन्छन्। अमेरिकाका डोनल्ड ट्रम्प जो अहिले राष्ट्रपतिका उम्मेदवार छन् उनले यस्तै कुरा गरेर उत्पात मच्चाइरहेका छन्।

हाम्रोजस्तो जातीय, क्षेत्रीय विविधता भएको मुलुकमा क्षेत्रीय, जातीय पहिचानमा केन्द्रित छन्। मधेश कोही थारू, कोही जनजाति केन्द्रित भएर पहिचान र क्षेत्रीयतावादी शक्तिहरू देख्छौँ। तर वैकल्पिक राजनीति भनेर देशव्यापी रूपमा समग्र ढंगले समस्या समाधान गर्ने, राष्ट्रियताको प्रश्न, देशभित्रको लोकतन्त्रलाई अझ सम्मुन्नत गर्ने प्रश्न, चरम भ्रष्टाचार र कुशासन छ त्यसलाई संस्थागत ढंगले हल गर्ने प्रश्न र देशभित्र असाध्यै पिछडिएको आर्थिक अवस्था, छोटो अवधिकै गरिबी र बिदेसिनुको प्रश्न। त्यसलाई दिशानिर्देश गर्ने जुन विचार एउटा उदारवादी पुँजीवादी विचार हो भने अर्कोचाहिँ साम्यवादी समाजवादी। मूलतः यी दुईवटा विचार हुन्। अर्को कन्जरभेटिभ सानो धार भइहाल्यो।

तर विश्व यी विचारबाट मात्रै चलेन। पटकपटक विश्वमा देखिएको छ नेपालमा पनि देखिएको छ। त्यसैले त्योभन्दा अगाडि बढेको उदारवादी लोकतन्त्रका व्यक्तिगत स्वतन्त्रतालगायतका गुणहरू भएको, आर्थिक रूपले बजार र निजी क्षेत्रको भूमिका भएको साथसाथै हाम्रोजस्तो पिछडिएको विविधतायुक्त समाजमा राज्य र समाजको नियमनकारी भूमिका भएको अथवा व्यक्तिको निजत्व र सामूहिकता राजनीतिक रूपमा र आर्थिक रूपमा बजारका सन्तुलित भूमिका यस्तो भएको उन्नत प्रकारको विचार जसलाई हाम्रो संविधानले पनि लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद भनेको छ। संवैधानिक समितिको सभापतिको नाताले त्यसको एउटा भाष्यकारका रूपमा भूमिका खेल्ने म पनि थिए।

लोकतन्त्रमा आधारित समाजवाद जुन हाम्रो संविधानले दिशानिर्देश गरेको र विश्व पनि त्यही विचारको खोजी भइरहेको छ। त्यसो भएको हुनाले हामीले त्यसलाई समुन्नत समाजवाद अर्थात् समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद भनेर वैचारिक ढंगले संश्लेषण गरेका छौँ। र, यी गुणहरूसहितको वैकल्पिक शक्ति हामीले निर्माण गर्न खोजेको हो- हेर्दा बिऊ सानोजस्तो देखिए पनि हुर्कने क्रममा केही अवरोध लागे पनि। संविधान जारी भएपछि दुईवटा निर्वाचन भए। त्यसको परिणाममा तिनै मानिस आइरहेका छन्। चुनावमा ठूला कुरा गर्छन्। मान्छेले त्यसैलाई पत्याएर भोट दिन्छन्। ६/६ महिना, १/१ वर्षमा सरकार बदलिन्छन्। सत्तामा तिनै मान्छे दोहोरिन्छन्, समाजमा केही परिवर्तन आउँदैन। यो त हामीले देखिसक्यौँ।

अब जनताले साँच्चै वैकल्पिक राजनीतिको अर्थ र महत्त्व बुझ्छन्, वैकल्पिक राजनीतिको विचार, राजनीति, नीति, कार्यक्रमसहितको विकल्प दिएको सच्चा वैकल्पिक शक्तिको पहिचान गर्छन् भन्ने हाम्रो विश्वास छ। यसैलाई नै स्थापित गर्नका निम्ति हामी विधान अधिवेशन हुँदै महाविधेशनमा गएर हाम्रो पार्टीलाई वैकल्पिक शक्तिका रूपमा गर्ने लक्ष्य हो। समस्या हल गर्न के भनेका छौँ भने सडक, सदन र सरकार तीनवटै तहबाट भूमिका निर्वाह गरे जान्छौँ।

एउटा, भ्रष्टाचार वृद्धि, अनियमिततालगायतका जुन कुरा छन् त्यसविरुद्ध सडकमा जनतालाई परिचालन गर्ने, स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचन प्रयोग गरेर त्यसमार्फत नीति निर्माण गर्न भूमिका खेल्ने र आवश्यकता र सम्भावनाअनुसार तीन तहका सरकारमा पनि नेतृत्वदायी भूमिका गर्ने, (अरूको पुच्छर बनेर होइन) निर्वाह गर्छौं। वैकल्पिक राजनीति पार्टी भन्ने तर पुरानै पार्टीको पुच्छर बनेर जाने प्रवृत्तिले गर्दा वैकल्पिक राजनीति धुमलिएको छ। हाम्रो सोच त्यस्तो हुँदैन। वैकल्पिक शक्तिले त्यसो गर्दैन। देशमा ठूलो संकट आउँदासाथ दिने कुरा एउटा हो तर आफ्नै नेतृत्वमा मात्रै सरकारमा जानुपर्छ।

वैकल्पिक शक्तिका रूपमा उदय भएका राजनीतिक पार्टीका विचार छताछुल्ल ढंगले आएको छ। कसको कस्तो विचार स्पष्ट किटान छैन। तैपनि बिस्तारै अगाडि बढेका छन्। सबै शक्तिसँग सहकार्य गरेर केही वर्षभित्र साँच्चिकै नेतृत्वदायी वैकल्पिक शक्ति निर्माण गर्न सक्छौँ भन्ने विश्वास छ। त्यसैको निम्ति हाम्रो प्रयत्न छ।

(नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले नेसपा विधान अधिवेशनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा राखेको विचार।)

प्रकाशित: ४ कार्तिक २०८१ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =