पुस्तक चर्चा

सिमाना खोज्दै : नेपाल एकीकरणको नालीबेली

रमेशप्रसाद खनाल २२ भदौ २०८१ १६:२८
124
SHARES
सिमाना खोज्दै : नेपाल एकीकरणको नालीबेली

राष्ट्र, व्यक्ति वा सामाज वा सभ्यताको विगतको तिथिमिति, घटना, परिघटना, व्यक्ति र व्यक्तित्वको उत्थान र पतनको सम्भव भएसम्म यथार्थको नजिक रहेर तत्कालीन समयका दस्ताबेज, लिखित र मौखिक प्रमाण, शिलालेख आदिको अध्ययन र अभिलेखीकरण गरेर भविष्यका निमित्त संरक्षण गरेर राखिने प्रक्रिया इतिहास लेखन हो। इतिहासलाई रुखो मानेर कतिपय यसको अध्ययन र व्यसनको विषय बनाउन चाहँदैनन्। तर विश्व मानव सभ्यताको विकासक्रम अगाडि बढाउन विगतबाट सिकेर अगाडि बढ्नुपर्ने भएकोले इतिहासको निरन्तर लेखन, अध्ययनअनुसन्धान आवश्यक हुन्छ।

इतिहास लेखनलाई विविध तरिका र प्रकारबाट गर्न सकिन्छ। साहित्य लेखनमा काव्य, महाकाव्य, पुराण हुन सक्छन् भने केही काल्पनिकताको जलप लगाएर लेखिने आख्यानले पनि इतिहासका खुलेका नखुलेका केही पाटा, पक्ष र आयाम परिचित गराउने लक्ष्य राखेका हुन्छन्। इतिहासलाई केन्द्रबिन्दु बनाएर रचिएका नेपाली आख्यान साहित्य अनगिन्ती छन्। यस प्रकारका इतिहास सम्बद्ध साहित्यमा पात्र र घटनाहरू, तिथिमितिहरू वास्तविक र यथार्थ हुँदाहुँदै पनि ऐतिहासिक अभिलेखबाट पुष्टि हुन नसक्दा कल्पनाको प्रयोग र भनेसुनेको आधारमा कतिपय विषय र सन्दर्भ अभिलिखित गर्ने गरिएको पाइन्छ।

अर्कोतर्फ कतिपय ऐतिहासिक घटना र व्यक्तित्वका विषयमा अनुद्घाटित सन्दर्भहरू काल्पनिकताको जगमा भन्न जरुरी पनि हुन सक्दछ। ऐतिहासिक व्यक्तित्व, सन्दर्भ र विषय आममानिसमा पुर्‌याउने एक सहज माध्यमका रूपमा साहित्यलाई प्रयोग गरिएको देखिन्छ। शुष्क भनिएका इतिहासका कतिपय प्रसंगहरूलाई साहित्यकारले इतिहासको आधारभूमिमा सिर्जनात्मकता र कल्पनाशीलता भरपूर उपयोग गरेर लेखिने यस्ता साहित्य इतिहास भने हुन सक्दैनन्। यी केवल साहित्यको एक ऐतिहासिक विधा मात्र हुन्छन्। किनभने यस प्रकारको साहित्य प्रामाणिक नभए पनि इतिहासका कतिपय व्यक्ति, विषय, परिवेश, तत्कालीन समय र सन्दर्भहरू बुझ्न बुझाउन भने अवश्य लाभदायी हुन्छन्।

कुत्सित मनसायले साहित्य लेखनका नाममा इतिहास तोडमरोड गर्ने वा अतिरन्जित गर्ने कामले भने आम पाठकहरूलाई भ्रमित पार्ने र इतिहासप्रति अन्याय हुने हुँदा सो तर्फ भने विशेष चनाखो रहनुपर्ने हुन्छ।

आजको विश्वमा एक स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा स्थापित नेपाल राष्ट्र एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदान, बलिदान र उत्प्रेरणाको जति नै बखान गरे पनि कम हुन्छ। बीस वर्षको कलिलो उमेरका युवा पृथ्वीको अठोट, मिहेनत र लगातारको प्रयत्नको फलस्वरूप आजको नेपालको स्वतन्त्र अस्तित्व कायम हुन पुगेको स्वत: सिद्ध छ।

त्यतिबेलाको नेपालको भौगोलिक, राजनीतिक, आर्थिक र सामरिक अवस्था र पृथ्वीले चालेका एकीकरणका कदम बारे आजको चश्माबाट मूल्यांकन गर्नु सायद पूर्वाग्राही हुने वा यथार्थपरक नहुने हुन्छ। इतिहासको अध्ययन तत्कालीन अवस्थाको गहन अध्ययन बिना हचुवा तवरमा गर्दा र इतिहासका विशिष्ट पात्रहरूलाई श्रेय नदिँदा आज इतिहास बनाउने नायक भनिएका व्यक्तित्वहरू पनि कालान्तरमा त्यतिबेलाका पुस्ताबाट दुत्कारिने परम्परा वा प्रचलन बस्न नजाला भन्न सकिन्न। यसर्थ इतिहासबाट पाठ सिक्ने र इतिहासमा योगदान दिएका युगपुरुषहरूलाई यथोचित सम्मान दिएर भोलिको निर्माण गर्नु नै व्यावहारिक हुने यथार्थ मनन गर्न आवश्यक छ।

यो पुस्तक नेपाल र नेपालीलाई एक सूत्रमा बाँध्ने इतिहास पुरुष पृथ्वीप्रति अतिरन्जित रूपमा दानविकरण गर्दै नेपालको इतिहास र अस्तित्वप्रति नकारात्मक भाव फैलाउन खोज्नेहरूको निमित्त एक गतिलो जवाफ बनेको छ। प्राज्ञिक रूपमा इतिहासका घटना, परिघटना र यथार्थबारे विशद रूपमा छलफल र राम्रा नराम्रा पक्षबारे चर्चा गर्नु नै पर्दछ। यिनै पृष्ठभूमिमा लेखिएको आभाष हुन्छ “सिमाना खोज्दै” नामक ऐतिहासिक उपन्यास।

पृथ्वीनारायणलाई इतिहासमा सजीव गराउन विगतमा धेरै लेखकहरूले आख्यान, कविता, कथाद्वारा प्रयास नगरेका होइनन् तर पनि जति लेखिनुपर्ने हो त्यति लेखिएको पनि छैन। इतिहासको गहन अध्ययनबिना यस्ता कालजयी कृति सिर्जना गर्न पनि कठिन हुने भएकोले सायद सर्जकहरू त्यसतर्फ उति जागरुक भएको भेटिन्न। यो सिर्जनाको खडेरीमा लेखक/उपन्यासकार लक्ष्मीविलास कोइरालाको ‘सिमाना खोज्दै’ नामक कृतिले राहतको काम गरेको छ।

२०७५ साल साउनमा किशोरदत्त मिश्र र रोशन आचार्यद्वारा प्रकाशित भएको यो पुस्तकको दोस्रो संस्करण पनि निकट भविष्यमा बजारमा आउन लागेकोले यो पुस्तक पाठकहरूले रुचाएको प्रमाणित भएको छ।

अनन्तकालदेखि अस्तित्वमा रहेको हिमवत् खण्डको नेपाल। चौधौँ शताब्दीमा छोरा भाइ भतिजामा राज्य बाँड्ने प्रचलनसँगै परापूर्वकालको एकीकृत रूपबाट बाइसे चौबिसे राज्यहरू बन्न पुगेका यी ससाना राज्यहरू जोडेर प्राचीन नेपालको एकीकृत स्वरूपमा पुन: फर्काउन सकिने विश्वास लिएका एक राजनेताको पर्खाइ। नेपालको लगभग मध्य भूगोलमा रहेको सानो र कमजोर मानिएको गोरखा राज्यको शाह वंशमा जन्मिएका एक युवा राजाको प्राचीन नेपालको सिमाना खोजको प्रणबाट सुरु भएको एकीकरण अभियानबाट एक सबल र सक्षम राज्यको स्थापनाका निमित्त गरिएको पहलको फलस्वरूप नेपालको आजको एकीकृत स्वरूप बन्न पुगेको छ।

यो अभियानको पहल गर्न गोरखाका राजा नरभूपाल शाहका पहिलो पुत्र पृथ्वीनारायण शाहको जन्म हुन गयो। बाल्यकालका साथीहरू संगाति अनि बुज्रुक वर्ग जस्तै- बिसे नगर्चीजस्ता बुद्धिमान् व्यक्तित्वहरूको रायसल्लाह मात्र लिने होइन भेष बदलेर विपन्न जनताहरूको घरमा बसेर पनि जनताको भावना र वास्तविकतासँग परिचित हुने अवसर लिन नचुक्ने यी राजाका भाइहरू दलमर्दन, महोद्दाम कीर्ति, दलजित र सुरप्रतापको पनि आ-आफ्नै योगदान थियो। बाल्यकाल र किशोर अवस्थाका पृथ्वीका क्रियाकलापहरू, गोरखनाथ बाबाको आशीर्वाद, शिक्षा, दीक्षा, युद्धकला आदि बारेका रोचक प्रसंगहरूले उनी एक साहसी, निडर र लक्ष्यप्रति अडिग व्यक्तित्व थिए भन्ने बुझ्न सकिन्छ। सानैमा उनले कठिन परीक्षामा पनि आफूलाई उतारेको प्रसंगहरूले धैर्य कायम गर्दै आफ्नो लक्ष्यप्रति अडिग रहन र लक्ष्य हासिल गर्न शिक्षा पनि दिन्छ।

पृथ्वीको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो। दुलहीबिना गोर्खा फर्कनुपर्दा उनले चन्द्रागीरि पहाडबाट कान्तिपुर, भक्तपुर, पाटनसहितको हराभरा उपत्यका अवलोकन गरे जसले पृथ्वीभित्र गढेर रहेको नेपाल एकीकरण गरी छोड्ने भावना झन् प्रबल हुन गयो। मकवानपुरका राजाको छोरीसँग वैवाहिक सम्बन्धमा गाँसिनु त एक रणनीतिक कदम बन्न पुगेको तथ्य पछिका घटनाहरूले साबित गर्दछन्।

उनको दोस्रो विवाह बनारसबासी अहिमान सिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग हुन पुग्दछ। उपत्यका नबुझी उनको एकीकरण अभियान सफल नहुने देखेर उपत्यकाको आर्थिक, सामाजिक, राजनीतिक तथा रणनीतिक अवस्था आदि प्रत्यक्ष बुझ्न उनी १३ महिना भक्तपुरका राजा आफ्ना मित बाकहाँ बसेका थिए।

दक्षिणी क्षेत्रमा फैलिँदै गरेको अंग्रेज साम्राज्यले नेपालमाथि आँखा लगाउनुपूर्व नै यो अभियानलाई सफलीभूत पार्नुपर्ने आवश्यकताप्रति उनी सचेत थिए।

यता पिता नरभूपाल शाहको मृत्युपूर्व नै राजकाजमा होमिएका पृथ्वीको अनुभव पनि खारिँदै गयो। मकवानपुरबाट रानी इन्द्रकुमारीलाई अन्माएर ल्याउने तेस्रो प्रयास पनि असफल भएपछि उनी युद्धद्वारा नै मकवानपुर विजय गरेर मात्र रानी गोर्खा लैजान्छु भन्ने अठोट गर्न पुगे।

गोरखा चारैतिरबाट शत्रु राज्यहरूद्वारा घेरिएको थियो। यस स्थितिमा गोरखाले आफ्नो अस्तित्व रक्षाका निमित्त पनि थप क्रियाशील र सिर्जनशील हुनुपर्ने थियो। यस क्रममा पृथ्वीनारायण शाह आफ्ना मित्र विराज बखेतीलाई काजी (प्रधानमन्त्री) पद दिन चाहन्थे तर कालु पाण्डेलाई दिएमा जनता खुसी हुन्छन् भन्ने बुझेर आफ्नो व्यक्तिगत चाहना परित्याग गरेको उदाहरणले त्यतिबेला जनताको भावनाको कदर हुन्थ्यो देखाउँछ।

त्यस्तै, कुनै पनि ठूला निर्णय गर्नुपूर्व जनराय बुझ्ने र युद्धको तयारीमा समेत सबै जात र धर्मका मानिस मिलाएर अगाडि बढ्ने उनको सुझबुझपूर्ण निर्णयले एकताबद्ध सैन्य गणहरू बने। २० वर्षको कलिलो उमेरमा पृथ्वी गोर्खाको सिंहासनमा राजाका रूपमा बसेका थिए। पूर्वतयारीबिना नुवाकोटविरुद्धको पहिलो आक्रमणमा हार खाएपछि पृथ्वीले पाएको चेत र सो युद्धमा सहादत भएका एक सैनिक पत्नीको सती नजाने अडानले गोरखामा पहिलोपटक महिला सैन्य टोली त्यतिबेला नै बन्न गएको प्रसंगले गोरखा दरबारले परिवर्तनलाई आत्मसात् गरेको देखाउँछ।

आफ्नो राज्याभिषेकपछि बनारसको १० महिनाको भ्रमण गरी भारतका अन्य राज्यहरूको अर्थतन्त्र, शासन ब्यवस्था आदिबारे बुझ्ने काम गरे र भारतीय उपमहाद्वीपमा अंग्रेजको बढ्दो प्रभावबाट नेपाल बचाउन नेपालको समग्र एकीकरणबाट मात्र सम्भव हुन्छ भन्ने उनको निश्चय थप प्रबल बन्यो। बनारसबाट ठूलो मात्रामा हतियार र कालीगढ साथमा गोरखा ल्याए। पृथ्वीले पहिलो पटक गठन गरेको गोरखा पल्टन नै आजको नेपाली सेनाको रूप हो। पुरानो गोरखा, शार्दूल, श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गणहरू अहिले पनि यथावत् छन्।

पूर्वतयारीसाथ गरिएको दोस्रोपटक नुवाकोट आक्रमणमा सफलता पाए भने बेल्कोट पनि जिते। पृथ्वीको सबल नेतृत्व, लडाकुहरूको युद्धकला, उनीहरूको मनस्थिति बलियो बनाउन राजा आफैँ युद्धमा हतियारसहित होमिन्थे।

ससाना गाउँ राज्यहरू कब्जा गर्दै मूल राज्यलाई घेर्ने नीतिअनुरूप पृथ्वीले कान्तिपुर वरिपरिका ससाना राज्यहरू क्रमिक रूपमा आफ्नो अधीनमा ल्याए। त्यहाँका युवालाई गोर्खा सैन्य सेवामा भर्ती खुलाउनाले स्थानीयलाई रोजगारीको अवसर मिल्न थालेपछि स्थानीय जनताको समर्थन पाउनु सफलताको अर्को सिँढी चढेसरह भयो।

यही समयमा पृथ्वीको पहिलो सन्तान उनको उत्तराधिकारी छोरा (युवराज) को जन्म भयो। यता उनको ध्याउन्न भने कान्तिपुर माथिको चढाइमा थियो। गोरखा, तनहुँ र लमजुङबीचको द्वन्द्वमा रणनीतिक रूपमा सन्तुलन राख्दै काठमाडौँ उपत्यकाका राज्यहरू क्रमिक रूपमा फतेह गर्ने कूटनीतिक चाल लिएका पृथ्वीले उपत्यकाको शक्ति केन्द्र कान्तिपुर भएकोले त्यसलाई विजय नगरी नेपाल एकीकरण अभियानले गति लिन सक्दैन भन्ने राम्ररी बुझेका थिए।

यस क्रममा कीर्तिपुरको पहिलो आक्रमण असफल मात्र भएन राजा पृथ्वीलाई बचाउने क्रममा गोर्खाली सेनाका प्रमुख कालु पाण्डेको मृत्यु पनि हुन पुग्यो। त्यो समय पृथ्वी आफ्नो शोकलाई नियन्त्रण गर्न र सेनाको आत्मविश्वास अटल राख्न ठुलो चुनौती आयो। युद्धको भुमरीका बीच आफ्ना पुत्र युवराजको ज्यानभन्दा देशको भलोमा जोड दिएर लेखेको रणनीतिक पत्र सुनेर वास्तविकता नबुझी युवराज आफ्ना पितासँग रुष्ट हुन पुगेको घटनाले दूरगामी असर पर्न गयो।

यता मकवानपुरमा राजा हेमकर्ण सेनको मृत्युपछि छोरा दिग्बन्धन सेनको सत्तारोहण भयो। रानी इन्द्रकुमारी पृथ्वीसँग विवाहित भएर पनि १८ वर्षदेखि माइतमै बस्नुपरेको पीडाको अवस्थामा पृथ्वी मकवानपुरको आक्रमणको तयारी गर्न थाल्छन्। अन्तत: मकवानपुरमाथि विजय हासिल हुन्छ। मकवानपुरको विजयपछि पहिलो पटक गोर्खाली क्षेत्रधिकारको भूमिले अंग्रेज साम्राज्यको सिमाना छुन पुग्छ।

कीर्तिपुरमाथिको दोस्रो आक्रमण पनि असफल हुन्छ। अन्तत: तेस्रो पटकको आक्रमणमा लिइएको विभिन्न रणनीक चालपछि प्राप्त विजयले कीर्तिपुर युद्धमा भएको क्षतिको बदला लिने भावना (पृथ्वीको निर्देशनविपरीत) पराजित केही कीर्तिपुरे सैनिकहरूको नाककान काटिएको घटना भने समग्र नेपाल एकीकरणको अभियानमा एक प्रकारको कालो धब्बाका रूपमा अंकित हुन पुग्यो। गोर्खाली सेनाले कीर्तिपुर विजय हासिल गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लको अनुरोधमा सिन्धुलिगढी हुँदै नेपाल उक्लिन खोजेको अंग्रेज सेनापति किनलकको नेतृत्वको अंग्रेज सेनामाथि गोर्खाली सेनाको विजय हुँदा तत्कालीन विश्व शक्ति अंग्रेज आधिपत्यविरुद्धको यो एक अभूतपूर्व ऐतिहासिक विजयको घटना हुन पुग्यो।

कीर्तिपुरमाथिको विजय, सिन्धुलीगढीमा अंग्रेजको पराजयपछि कान्तिपुरमाथि आक्रमण गर्नुपूर्व पृथ्वीले आवश्यक सुझबुझ र रणनीतिलाई अंगीकार गर्दै सकेसम्म रक्तपातविहीन विजय हासिल गर्ने योजना बनाए। यसका लागि उनले इन्द्रजात्राका दिन रोजे किनभने सबैजना जात्रामा रमाइरहेका बेला कम क्षति हुने आंकलन थियो। सोहीबमोजिम गोर्खाली सेनाले कान्तिपुर सहजै कब्जा गर्न सफल भयो।

कान्तिपुर विजयपछि पाटन (ललितपुर) र भक्तपुर क्रमिक रूपमा नेपाल अधिराज्यमा कुनै ठूलो युद्धबिना नै गाभिए। राजा पृथ्वी जनताको कुनै क्षति हानि नहोस् भन्नेमा सचेत भए पनि लडाइँमा कुनै न कुर्ने रूपमा क्षति हुनु निर्विवाद छ। उपत्यका विजयपछि प्रताप मल्लको पालादेखि नेपाल पसेका केपुचिन पादरीहरू र इसाईहरू लखेटिए र तिनले पृथ्वीविरुद्ध बिभिन्न दुस्प्रचार गरे।

यता राष्ट्रिय एकता बलियो हुँदै थियो भने उता पृथ्वीका भाइहरूमा कान्तिपुर राजसी ठाँटमा जिउने अभिलाषा पलाउन थाल्यो। एकीकृत हुँदै गरेको नेपालभित्र आफ्नो बेग्लै राज्य हुनुपर्ने भनेर दाजुसँग निहुँ खोज्न थाले। पृथ्वी र खासगरी उनका तीन भाइबीच सुरु भएको विवादले धेरै नेपालीको बलिदानले जगेर्ना गरिएको राज्य टुक्राउन उनी सहमत नभएपछि भाइहरू रुष्ट हुन पुगे।

नेपाल एकीकरण अभियानको परिकल्पना मात्र होइन त्यसलाई कार्यान्वयनमा पनि ल्याउन सफल पृथ्वीले २० वर्षको उमेरदेखि न दरबारमा बसेर राज गरे न राजसुख नै लिए। उनको ३१ वर्षको नेपाल एकीकरणको अभियानमा सदैव युद्धमैदानमा रहनुपर्दा परिवार र दरबारको चरित्र राम्रोसँग बुझ्न पनि पाएनन्। आफ्ना पुत्र युवराज प्रताप सिंहसँगको उनको तिक्ततापूर्ण सम्बन्धबारे उनलाई आभाष नै हुन पाएन। यसले भविष्यको नेपालको एकीकरण अभियान कतै रोकिने त होइन भन्ने चिन्ता पृथ्वीमा आउन थाल्यो। बाबु-छोराबीचको दुरीले नेपालको भविष्य अन्धकारतर्फ उन्मुख देख्दा उनी दिक्दार भए पनि पूर्वमा एकीकरण अभियान चालु नै राखे र चौदण्डीमाथि विजय हासिल गरे। आमाको मृत्यु हुँदासमेत युद्ध छोडेर नफर्किएका पृथ्वी आफ्नो लक्ष्यप्रति दृढ देखिन्छन्।

पूर्वमा लिम्बुवानसँगको वर्षौँको झडप र असफल युद्धपछि दुवै पक्षबीच सम्झौता भई लिम्बुवान नेपालमा समेटियो भने पूर्वमा टिस्टा नदीसम्म नेपालको पूर्वी सिमाना कायम हुन पुग्यो। पश्चिममा भने लमजुङ जित्न बाँकी थियो। पूर्वको विजय अभियानपछि उनले पश्चिम विजय अभियान सुरु गर्ने अठोट गरे। यही अवधिमा अंग्रेजसँग पनि सम्बन्ध सुधार गर्ने कूटनीतिक सफलता प्राप्त गरे। २० वर्षको उमेरमा एकीकरण अभियान सुरु गरेका पृथ्वीले ३१ बर्षसम्म अभियानको नेतृत्व गर्दा उनको उमेर ५१ पुगेको थियो। नेपालको स्वतन्त्र अस्तित्वलाई पुनर्स्थापना गर्नमा सारा जीवन अर्पेका पृथ्वीको जीवन संघर्षमय रह्यो। यस अवधिमा भएको नेपाल-अंग्रेजबीचको द्विपक्षीय सन्धिले नेपालको स्वतन्त्र राष्ट्रिय अस्तित्वको पुष्टि गरेको देखिन्छ। नेपालको स्वतन्त्र अस्तित्व विश्वसामु परिचित र प्रमाणित गर्ने एक कूटनीतिक सफलता थियो।

उत्तराधिकारी पुत्र प्रतापसिंह शाहमा पिता पृथ्वीप्रतिको नकारात्मक धारणा, भाइहरूबीच विकसित बेमेल र दरबारिया कलहको वातावरणले पृथ्वीमा गहिरो मनोवैज्ञानिक असर पर्न गयो र उनी बिरामी भई थला परे। उता पश्चिम क्षेत्रलाई नेपाली भूभागमा एकीकृत गर्न पुगेको गोर्खा सैनिक पराजित भयो र जितेको भूभाग पनि गुमायो भन्ने सुनेपछि उनी झन् गल्न पुगे। आफू मरे पनि नेपाल एकीकरण अभियान जारी रहनुपर्छ भन्ने उनको जोड थियो।

३१ वर्षको नेपाल एकीकरण अभियान उनको अशक्ततासँगै रोकिने सम्भावनाको चिन्ताले थप मानसिक र शारीरिक कमजोरी बढ्यो। अन्तत: आफूले पहिलो विजयध्वजा फहराएको नुवाकोटमा उनले देहत्याग गरे। आफ्नो निधनपूर्व भाइभारदारहरूलाइ दिएको उपदेशहरू (दिव्योपदेश) ले आजसम्म पनि नेपालको नीतिनियमको निमित्त मार्ग निर्देशन मात्र गर्दैन नेपालको सामरिक, रणनीतिक तथा कूटनीतिक नीतिको जग हाल्ने कामसमेत गरिदिएको छ। यसरी नेपालको सिमाना खोज्दै २० वर्षको उमेरमा हिँडेका युवा राजाको ५२ वर्षको उमेरमा निधन हुँदा बाँकी एकीकरणको कार्यभार आफ्ना सन्ततिलाई छोडेर गएका उनले आफ्नो ज्यान रहुन्जेल राष्ट्रलाई विभक्त गरेर शासन गर्ने मनसायलाई भने हाबी हुन दिएनन्।

‘सिमाना खोज्दै’ उपन्यासका मुख्य विशेषता

लेखक कोइराला इतिहासका जिज्ञासु हुनाले इतिहासभित्र लुकेछिपेका तथ्य, तथ्यांक र घटनापरिघटना संगालेर एवं नेपाल एकीकरणका विषयमा लेखिएका विभिन्न पुस्तक र सन्दर्भ ग्रन्थहरूको गहन अध्ययन गरेर निकै मिहेनतसाथ यो कृति तयार पारेको देखिन्छ। ऐतिहासिक उपन्यास लेख्न त्यति सहज हुँदैन किनकि यो बिषय कल्पनाको उडानमा लेखिने अन्य उपन्यास लेखन कर्म जस्तो होइन। खनमा इतिहास पढेर मात्र हुँदैन इतिहासको पात्र वा घटनामा डुबेर आफूलाई सो भित्र आत्मसात् गराएर तत्कालीन परिवेश, सन्दर्भ र संवादको सफल संयोजन मिठासपूर्ण तवरमा गर्न सक्षम पनि हुनुपर्दछ। यसमा उपन्यासकार कोइराला सफल मान्नुपर्दछ। उनले पृथ्वीनारायण शाह, उनको युगीन कदम र उनीसँग जोडिएर आउने पात्र र घटनाक्रम प्रति न्याय गरेको अनुभव हुन्छ।

कृतिले पृथ्वीको जन्मदेखि मृत्युसम्मका घटनालाई सिलसिलेवार ढंगमा प्रस्तुत गरेको छ। नेपाल एकीकरण अभियानको सुरुदेखि गोरखाली सेनाको विजय पराजयका विभिन्न प्रसंग हुँदै पूर्वी नेपालको एकीकरण, पश्चिम नेपालको एकीकरण अभियानमा आएको जटिल स्थिति र ५२ वर्षको उमेरमा भएको देहत्यागसँगै उपन्यास पटाक्षेप गरिएको छ। उपन्यासलाई आमपाठकका निम्ति पनि रुचिकर होस् भनेर युवा गोर्खाली सेनाका जवानहरूको प्रेम, बिछोड र मिलनका प्रसंगहरू मात्र होइनन्, पृथ्वीसँग गाँसिएका विभिन्न दन्त्यकथा पनि रोचक ढंगमा प्रस्तुत गर्नु लेखकीय विशिष्टता हुन्।

 २९० पृष्ठको यो कृति इतिहासका पात्र र घटनामा आधारित पुस्तक हो जसलाई उपन्यास (“इतिहासान्यास”) भनिएको छ। इतिहासलाई कतिपय अवस्थामा कथाको रूप दिएर पनि लेख्ने गरिन्छ तर यस्ता कथा तथ्यमा आधारित हुन्छन्।

 ‘उपन्यास’ भनिए पनि काल्पनिकताको प्रचुर प्रयोग गर्दै ऐतिहासिक तथ्य, पात्र र घटनाहरू जस्ताको तस्तै राख्नु यो पुस्तकको विशेषता हो। नेपालको इतिहास रोचक ढंगमा पढ्नका लागि सहज भाषामा लेखिएको यो कृतिले नेपालको एक महत्त्वपूर्ण कालखण्डको इतिहास बुझ्न र बुझाउन सघाउनेछ। इतिहासलाई आफ्नो राजनीतिक स्वार्थका निमित्त तोडमरोड गर्ने र आफ्नो अनुकूल भाष्य बनाउने प्रवृत्तिको सन्दर्भमा यो पुस्तक नेपाल एकीकरण र पृथ्वीनारायणका विषयमा विभिन्न कोणबाट उठाइएका संशयात्मक प्रश्नहरूको जवाफ बनेर आएको देखिन्छ।

 आँखाअगाडि नै भए जस्तो गरी सरल, सहज र सरस शैलीमा कथा भन्न सक्ने सीप उपन्यासकारमा रहेको देखिन्छ। उत्सुकता बढाउँदै पाठकलाई सँगसँगै डोर्‍याउन सक्नु लेखकीय क्षमताको थप परिचायक र विशेषता हो। इतिहासका वास्तविक नामहरू प्रयोग गरिएकोले घटनाहरूसँग सम्बद्ध पात्रहरू जिउँदो जाग्दो लाग्छन्। इतिहासका ती विशिष्ट व्यक्तित्वहरूका जीवनका उतारचढावका लोहमर्षक वर्णन गर्न सक्नु यो उपन्यासको अर्को विशिष्ट पक्ष हो।

महत्त्वपूर्ण घटना वर्णन गर्ने क्रममा आवाश्यक देखिने केही प्रसंगहरूको सन्दर्भमा भने वर्ष (साल) मात्र भए पनि उल्लेख भएको भए पाठकलाई तात्कालिक समय सन्दर्भ बुझ्न निकै मद्दत पुग्ने थियो। साथै, पृथ्वी र अंग्रेज शासकहरूबीच आदानप्रदान भएको भनिएको पत्र र सम्झौता पनि अनुसूचीमा समावेश गर्न सकिएको भए पुस्तक थप फलदायी हुने थियो।

र अन्त्यमा,

उपन्यासकार कोइरालाले यो पुस्तकको नाम ‘सिमाना खोज्दै’ राख्नुको कारण खोतल्दा सम्भवत: नेपाल विगतमा आफ्नो ऎतिहासिक भूमिसहित एक एकीकृत राज्य थियो तर इतिहासको कुनै कालखण्डमा विभिन्न कारणले ससाना राज्यरजौटाहरूमा विभक्त भएका कारण तिनलाई एकीकृत गरेर विगतको समृद्ध नेपाल पुन:स्थापना गर्नका लागि लुप्त सिमाना खोज्दै पृथ्वीनारायणले नेपाल एकीकरण अभियान सुरु गरेको मान्यतामा आधारित भएर सायद यो कृति लेखिएको हो। इतिहासमा हराएको ‘सिमाना खोज्दै’ हिँड्ने अभियानलाई अरू राज्यलाई आक्रमण गर्दै आफ्नो राज्यमा गाभ्ने वा अतिक्रमण गरेको भन्ने अर्थमा बुझ्न हुन्न भन्ने मनसाय पनि यो शीर्षकले इंगित गरेको छ।

प्राचीन नेपालको इतिहासमा उल्लेख भएको सिमाना खोज्ने अभियानको कथालाई मिठासपूर्ण तवरमा उपन्यासको लेप लगाएर लेखिएको यो कृतिले नेपाली साहित्यको इतिहासमा थप एक इँटा थपेको अनुभूत हुन्छ। नेपाल सरकारको निजामती सेवामा ३ दशकभन्दा बढी सेवा गरी सहसचिव पदबाट सेवा निवृत्त भएपछि आफूले आर्जन गरेको ज्ञान, अनुभव र अनुभूतिहरू समाज र राष्ट्रका निमित्त उपयोगी हुने सोचका साथ निरन्तर रूपमा लागेका लेखक कोइरालालाई यो कृतिको निमित्त साधुवाद भन्नैपर्दछ। सेवा निवृत्त जीवनको यस प्रकारको क्रियाशीलाताबाट नेपाल र नेपाली समाजले पूरापूर फाइदा पाउने निश्चित छ।

पृथ्वीनारायणको जन्मदेखि उनको देहावसानसम्मको ऐतिहासिक तथ्यमा आधारित भएर उपन्यासकार लक्ष्मी विलास कोइरालाले ‘सिमाना खोज्दै’ जसरी प्रस्तुत गरेका छन् त्यसरी नै उनको सशक्त कलमले अब पश्चिम नेपालको एकीकरण गाथा पनि लेखिनुपर्छ भन्ने मेरो जोड छ। यसो भयो भने नेपाल एकीकरणको समग्र तस्बिर आमपाठकले सहज ढंगमा बुझ्न पाउनेछन्। पृथ्वीले सुरु गरेको एकीकृत नेपालको अभियानद्वारा स्थापित सिमानाभित्र आज नेपाल एक स्वतन्त्र र सार्वभौम राज्यका रूपमा विश्वसामु परिचित भएको श्रेय पृथ्वीकै योगदानलाई दिनुपर्ने वास्तविकताप्रति कसैको विमति हुन सक्दैन। साथै, यो कृतिबाट भूराजनीतिको जटिल चपेटामा परेको आजको नेपालले आफूलाई जोगाउँदै यसको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता, अटुट राष्ट्रियता र देशभक्ति आउँदो पुस्ताको निमित्त जगेर्ना र संरक्षण गरिदिनुपर्ने गहन दायित्व रहेको प्रति सचेत हुन मात्र होइन पृथ्वीका जीवनका विभिन्न आयामहरूबाट उत्प्रेरित हुन पाउनेछन्। आगामी दिनहरूमा लेखक कोइरालाका कलमहरू यसैगरी अविश्रान्त चलिरहून्।

कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत हुन्।

प्रकाशित: २२ भदौ २०८१ १६:२८

प्रतिक्रिया

3 thoughts on “सिमाना खोज्दै : नेपाल एकीकरणको नालीबेली

  1. नेपाल सरकारको निजामती सेवामा ३ दशकभन्दा बढी सेवा गरी सहसचिव पदबाट सेवा निवृत्त भएपछि आफूले आर्जन गरेको ज्ञान, अनुभव र अनुभूतिहरू समाज र राष्ट्रका निमित्त उपयोगी हुने सोचका साथ निरन्तर रूपमा लागेका लेखक कोइरालालाई यो कृतिको निमित्त साधुवाद भन्नैपर्दछ 👍👍🙏

  2. My congratulations to ambassador Ramesh prasad khanal for such excellent review of the book authored by laxmi bolas koirala .

  3. Ramesh sir ,
    While every sentence and para in this review has significant bearing the fourth and the fifth para are of paramount importance in my view..
    Yes, laxmi bilas koirala , a seasoned author deserve special credit for writing such book so vital to the readers .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =