‘नाकाबन्दी र भूराजनीति’को लोकार्पण : कमल थापाले ओलीलाई दिए कूटनीतिक सुझाव

हिमाल प्रेस १० भदौ २०८१ २२:०४
132
SHARES
‘नाकाबन्दी र भूराजनीति’को लोकार्पण : कमल थापाले ओलीलाई दिए कूटनीतिक सुझाव प्रधानमन्त्री केपी शर्मा ओली साेमबार पूर्वमन्त्री कमल थापाद्वारा लिखित 'नाकाबन्दी र कुटनीति' पुस्तकको लोकार्पण गर्दै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौँ- ‘उहाँको औपचारिक शिक्षा १० हो भन्ने सुन्छु तर उहाँले विदेशीसँग गर्ने डिल र भाषण सुन्दा म निकै विद्वान प्रधानमन्त्रीको मन्त्रिपरिषदमा रहेछु भन्ने गर्व भएको थियो।’

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह नगर गुजरातमा नागरिक अभिनन्दनपछि हिन्दीमा सम्बोधन गरेका उहाँले भारतीयलाई मन्त्र मुग्ध पार्नुभएको थियो। हिन्दी पनि उत्तिकै राम्रो बोल्ने।’

‘चीनको बेइजिङमा बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) को बारेमा बोल्ने क्रममा लिखित भाषण गोजीमा थन्काएर आफैँ अंग्रेजीमा भाषण गर्न खोज्दा चिप्लाउने हुनुभयो भन्ने लागेको थियो तर अत्यन्त मिठो, राम्रो, सरल र सुसंस्कृत अंग्रेजीमा भाषण गरेर चिनियाँलाई नै दंग पार्ने काम गर्दा मन गर्विलो भएको थियो।’

माथिका लाइन कमल थापाले आफ्नो पुस्तक नाकाबन्दी र भूराजनीतिक लोकार्पण कार्यक्रममा प्रधानमन्त्रीको पहिलो कार्यकाल (संविधान जारी भएपछि)को समय स्मरण गराउँदै खर्चेका शब्द हुन्। थापाले यसो भनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली दंग देखिन्थे। १० मात्र भन्दा अलिक खस्केको अनुहार थापाका प्रशंसाका शब्दले निकै उज्यालो बनेको थियो। उनले पुस्तकको संक्षिप्त जानकारी दिँदै लामो समय प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चे। ‘धेरै जनाको नेतृत्वमा म मन्त्री बने तर ओलीजीमा काम गर्ने जोस–जाँगरका साथै राष्ट्रभाव बढी नै पाएँ,’ उनले भने।

थापाले पटकपटक ओलीको प्रशंसा गरे। ओलीले चाहेमा नेपाल-भारतबीच अहिले देखिएका समस्याहरु सहजै रुपमा समाधान गर्न सक्ने बताए। त्यसमा अन्यको साथ आवश्यक पर्ने उनको भनाइ थियो। त्यो स्तरको ज्ञान र क्षमता भएको नेता विरलै भेटिन्छ भन्दै ओलीको शैलीप्रति उनले निकै प्रशंसा गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा हाम्रा छिमेकहरूबीच भिन्नता भएको र उनीहरूबीच सहकार्य राम्रो पनि नभएको बताए। जसकारण नेपालले समयसमयमा भारतको नाकाबन्दी भोग्नुपरेको उनले दाबी गरे।

थापा स्वयंले लेखेको ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण गर्ने क्रममा बोल्दै उनले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता रहेको खुलाउँदै भने, ‘हामी दुवै मुलुकबीचको अवधारणागत भिन्नता साँघुरो पार्न आवश्यक छ। अन्यथा नेपालले आउँदा दिनहरूमा पनि नाकाबन्दी भोग्नुपर्ने हुन्छ।

नेपाल र भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउन भूराजनीति र दुई देशका बीचमा रहेको अवधारणागत भिन्नतालाई खुम्च्याउन सक्नुपर्ने उनले बताए। भारतले नेपालमा पटकपटक नाकाबन्दी लगाउनुमा तत्कालिक कारणहरु उल्लेख गर्दै त्यो भन्दा मुख्य समस्या अवधारणागत भिन्नता नै रहेको खुलेको पनि उनको दाबी छ।

नेपाल र भारतबीच भूराजनीतिक बुझाइमा देखिएको भिन्नताका साथै सुरक्षा र सामरिक विषय पनि रहेकाले त्यो अवस्था आएको उनले बताए। तत्काल एउटा कारण देखिए पनि त्यसको चेन इफेक्ट हुने गरेको उनी बताउँछन्।

भारतसँग मात्र होइन चीनसँग पनि हाम्रो अवधारणा गत भिन्नता रहेको भन्दै उनले चीन र भारतबीचमा नेपाल हुनु चुनौती मात्र नभएर अवसर पनि भएको बताए। ‘चीन र भारतको बीचमा रहनु सौभाग्य पनि हो,’ उनले भने, ‘तसर्थ दुई देशबीच सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ।’

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा अघि बढाएको विषय अहिले कार्यावन्यनमा ल्याउन आवश्यक देखिएको पनि उनले बताए। अहिले कांग्रेस-एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि भारतसँग कुरा राख्ने उपयुक्त समय रहेको सुझाव उनले दिए। ‘यतिबेला कांग्रेस र एमालेको संयुक्त सरकार छ। संख्यात्मक दृष्टिकोणबाट यो सरकार निकै बलियो देखिन्छ। यसले राजनीतिक स्थायित्व दिने उपयुक्त अवसर हो,’ ओलीतिर फर्कँदै थापाले भने, ‘यहाँ पहिलो पटक प्रधानमन्त्री हुँदा अघि बढाएका विषयलाई प्राथमिकताको आधारमा सम्बोधन गर्दै जाँदा इतिहासमा समेत नेपालीले ओलीजीलाई मनमा कैद गर्नेछन्।’

लेखक थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गर्न पाएको बताए। त्यो पारवाहन सम्झौता स्मरण गर्दै उनले भने, ‘यो सम्झौता ऐतिहासिक हो। यो पारवाहन सम्झौताको महत्त्व आफ्नै प्रकारको छ। त्यसलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

उनले यसरी प्रशंसा गरेको केही समय पछि प्रधानम्न्त्री ओलीले पनि कमल थापालाई देखाउँदै भने, ‘उहाँ (थापा) अध्ययनशील र बुझेको परराष्ट्रमन्त्री हुँदा मलाई सहज भएको थियो। उहाँको विद्धता खटाई बोल्ने शैलीले म प्रभावित छु। यो बीचमा राजनीतिमा के अलमल भएछ उहाँ अहिले फुर्सदमा हुनुभयो। जसले गर्दा उहाँलाई पुस्तक लेख्ने समय निस्कियो।’

थापाले आफूलाई राजनीति र कूटनीतिको विद्यार्थी भनेपछि सबैलाई व्यंग्य गर्दै ओलीले भने, ‘मैले यहाँ के कूटनीतिको कुरा गर्ने? म गुच्चा खेलिरहँदा विश्वमा नेपालको कूटनीति हाँकेर हिँड्नुभएका हस्तिहरूको उपस्थिति देखेको छु। म बबुरो के बोल्ने र यो कूटनीतिमा,’ उनले डा. भेषबहादुर थापा, डा. दुर्गेशमान सिंह, निलाम्बर आचार्य र परराष्ट्रका पूर्वकर्मचारीहरुलाई देखाउँदै भने।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुकबीच यदाकदा समस्याहरू देखिनु सामान्य भएको भन्दै भने, ‘कुनै पनि अल्झिएको बुँदा भए त्यसलाई दुवैको सरोकारमा समाधान गर्दै अघि बढ्न आवश्यक छ।’

आफ्ना पहिलो मन्त्रिपरिषद्को पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितमा आफू लागिरहने बताए। उनले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य प्रमाणका आधारमा समाधान खोजिएमा समस्या नै निर्मूल हुने उनले बताए।

‘नेपालले सन्तुलित, इमानदारिता र पक्षधरता विहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ। हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ। कसैको कुभलो चिताउँदैनौँ ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ। हामी जुनसुकै समस्याको समाधानलाई तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ। संयुक्त राष्ट्रसंघका सिद्धान्तको पालना गर्छौँ। त्यसको उलंघन भएमा हामीले अनुचित भयो भनेर भन्छौँ।’

ओलीले बोल्ने क्रममा ‘हामी तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्छौँ’ भन्दा सबै हाँसेका थिए। हाँसोले हल गुञ्जायमान भएको थियो। नेपाल विश्व शान्ति र आफ्ना नागरिकको सुरक्षाको सवालमा निके संवेदनशील रहेको भन्दै उनले भने, ‘हामी आफ्नो स्वार्थका लागि अरूको स्वाभिमानका धक्का लगाउने काम गर्दैनौँ। यो नै विश्वास दिलाउन सक्नुपर्छ। शब्द बोल्नमा सहज भएर होला जे भन्दा पनि असजिलो भयो कि भूराजनीतिक झड्का भन्यो बस्यो गर्दा पनि कूटनीति गिजोलिएको हो। हामी मुलुकभित्र र आफ्नो कमजोरी लुकाउन जहिले पनि भूराजनीति भन्ने गर्छौँ, यो कदापि उचित होइन।’

उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धिलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्ने बताए। ‘मेरै पालामा सुरु भएको म नै यसको समाधान गर्नेछु,’ उनले भने।

उनले सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने पनि बताए। २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सन्धि हुनु युगान्तकारी काम भएको भन्दै उनले भने, ‘चीनसँगको उक्त सम्झौता कार्यान्वयनमा जानेछ। यसमा म लागिरहेको छु।’

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई पुनः आग्रह गरेको उनले बताए। त्यो प्रतिवेदन बुझेपछि कहाँ के गर्ने स्पष्ट काम गर्न सहज हुने पनि उनको भनाइ छ। उनले भने, ‘छिमेकी मुलुकका बीचमा यदाकदा समस्या देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रुपमा संवाद गरेर समाधान गर्न सकिन्छ।’

उनले थपे, ‘नेपालले सन्तुलित, इमानदारी र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ। हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं। कसैको कुभलो चिताउँदैनौं । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं।’

उनले तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्ने बताए। ‘संयुक्त राष्ट्रसंघका सिद्धान्तको पालना गर्छौं। त्यसको उल्लंघन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ,’ उनले भने, ‘तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ। हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौं। कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानमा धक्का लगाउने काम गर्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शिरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आवश्यक रहेको उनले बताए। प्रधानमन्त्रीले आफ्नै पालामा पनि भारतसँग सन् १९५० को मैत्रीपूर्ण सन्धि पुनरावलोकनबारे छलफल र चीनसँग रेल, तेल र पारवहन सम्झौताको हिस्सेदार रहेको बताए।  यसको कार्यावन्यनमा जोड दिएको उनको दाबी छ।

मन्त्री थापाको पुस्तक ६ अध्याय छ। परराष्ट्रमन्त्रीको जिम्मेवारी लिनु हुन्थ्यो कि बाट पुस्तक सुरु भएको छ। त्यसपछि राजा महेन्द्रलाई प्रेरणा स्रोत, राजा विरेन्द्रको सुझाव ७५ जिल्लाबाट राहदानी, विम्स्टेकमा नेपालको सहभागिता, चिकेन नेक हुँदै बंगलादेश एकीकृत महाकाली सन्धि लगायत पहिलो अध्यायमा छ।

दोस्रोमा शान्ति तथा मैत्री सन्धि र कालापानी छ। तेस्रोमा केही अनुभव र अनुभूति, चौथोमा नाकाबन्दी , पाँचौँमा नेपाल चीन सम्बन्ध दीर्घकालीन खाका र छैँटौँमा अन्तराष्ट्रिय सम्बन्धका विविध प्रसंग रहेका छन्।

प्रकाशित: १० भदौ २०८१ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast