नेपाल–ओमानको पहिलो द्विपक्षीय परमार्श संयन्त्रको बैठक सम्पन्न

हिमाल प्रेस २३ साउन २०८१ २२:१८
8
SHARES
नेपाल–ओमानको पहिलो द्विपक्षीय परमार्श संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ- नेपाल र ओमानबीच बुधबार पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न भएको छ। ओमानको मस्कटमा द्विपक्षीय संयन्त्रको बैठक भएको हो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी थिइन् भने ओमानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव शेख खलिफा बिन अली बिन इसा अलहार्थीले गरे।

मस्कटस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै प्रतिनिधिमण्डलले द्विपक्षीय सम्बन्धका विषयमा विस्तृत छलफल गरेको जनाएको छ।

छलफलका क्रममा प्रतिनिधिमण्डल सन् १९७७ देखि दुवै देशबीचको उत्कृष्ट सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै उच्चस्तरीय भ्रमणलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन सहमत भएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिनिधिमण्डलस्तरीय भेटमा व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम तथा वैदेशिक रोजगार, संस्कृति, शिक्षा र सोझै हवाइ सञ्चालनलगायतका विषयमा छलफल भएको छ।

आर्थिक अवसरहरू अभिवृद्धि गर्नका साथै दुवै देशका नागरिकका लागि थप अवसर सिर्जना गर्न प्रतिनिधिमण्डलले प्रतिबिद्धता जनाएका छन्।

परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएकोमा ओमान सरकारलाई धन्यवाद दिइन्।

उनले आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइन्। सचिव लम्सालले नेपालमा जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न ओमान सरकारसँग आग्रहसमेत गरेकी छन्।

द्विपक्षीय परामर्श संयन्त्रको बैठक काठमाडौँमा हुनेछ। बैठकको मिति आपसी समझारीमा तय हुने जनाइएको छ।

 

प्रकाशित: २३ साउन २०८१ २२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =