‘अग्निदहन’ मंसिर ७ मा प्रदर्शन

हिमाल प्रेस १६ साउन २०८१ १२:२१ | Wednesday, July 31, 2024
‘अग्निदहन’ मंसिर ७ मा प्रदर्शन

काठमाडौँ- साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित फिल्म मंसिर ७ मा प्रदर्शन हुने भएको छ। राजधानीमा कार्यक्रम गर्दै फिल्मको पोस्टरसहित मंसिर ७ लाई प्रदर्शन मिति घोषणा गरिएको हो।

फिल्म सामाजिक कथामा आधारित छ। मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरेकाे ‍फिल्मका निर्देशक घनश्याम लामिछानेले बताए। ‘फिल्ममा थ्रिलर, सस्पेन्स सबै छ। उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं। फिल्ममा दर्शकले सन्देश र मनोरञ्जन दुवै पाउनुहुनेछ’, उनले भने।

 निर्देशक लामिछानेले एउटा डरलाग्दो विषयलाई आफूले फिल्ममा उठान गरेको जिकिर गरे।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोक्सीजस्तो अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए। ‘बोक्सीको आरोपमा धेरै महिला मारिनुका साथै उनीहरुमाथि भएको कुटपिटले आत्महत्या गर्न बाध्य छन्। अझ भनौं अमानवीय कार्य नै भएको छ’, मन्त्री गुरुङले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ। यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो। त्यसलाई सबैले मिलेर फाल्नुपर्छ। त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु।’

फिल्ममा उपन्यासकार लोकमणि पौडेलको पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष तथा फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामासमेत डबिङ गरिएको बताए। उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ।

फिल्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो। यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला र ताराबहादुर गुरुङको अभिनय छ। फिल्मलाई  चलचित्र विकास बोर्डले २०७५ मा  ‘विशेष फिल्म पुरस्कार’ समेत दिएको थियो ।

प्रकाशित: १६ साउन २०८१ १२:२१ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast