काठमाडौँ- वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शाहीले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रकाशित: २२ मंसिर २०८० २१:४३
प्रतिक्रिया