ओली-प्रसाईं सम्बन्ध

मार्सी भातले जोड्यो, ‘महाअभियान’ ले तोड्यो

रमेश भारती २१ कार्तिक २०८० १९:२०
134
SHARES
मार्सी भातले जोड्यो, ‘महाअभियान’ ले तोड्यो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओली र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा वाक्युद्ध चलिरहेको छ। एक वर्षअघिसम्म नङ र मासुको जस्तो सम्बन्ध भएका ओली-प्रसाईंबीच अहिले घोचपेचको राजनीति चल्दैछ। शक्तिशाली पार्टी एमालेका अध्यक्ष एवम् दुईपटक प्रधानमन्त्री भइसकेका ओली एउटा व्यापारीविरुद्ध सतहमा किन उत्रिएका होलान् त्यसको गुह्य कुरा त उनीहरूलाई मात्रै थाहा होला। किनभने प्रसाईको विरोधमा ओली उत्रिएको विषयमा एमालेका नेताहरू केही बोल्न चाहँदैनन्। प्रसाईं तिनै व्यक्ति हुन् जसलाई ओलीले केही समयअघि पार्टी केन्द्रीय सदस्यको शपथ खुवाएका थिए।

हुन त प्रसाईं कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘प्यारा’ थिए। उनी प्रचण्डका लागि ज्यान दिन तयार रहेको बताउँथे। प्रसाईं भन्थे, ‘म उहाँ (प्रचण्ड)को निधनपछि काजक्रिया गर्नुपरे पनि तयार हुन्छु।’ तर तिनै प्रसाईं पछि एकाएक ओलीसँग निकट भए। उनले किन प्रचण्ड छाडे र ओलीसँग नजिकिए चासोको विषय बनेको थियो त्यति बेला पनि।

प्रचण्डपत्नी सीतालाई आमा र प्रचण्डलाई बुबा मान्छु भन्ने प्रसाईं ओलीसँग निकट भएपछि राजनीतिक वृत्तमा पनि चर्चा भएको थियो। प्रसाईं ओलीका निकट मात्र भएनन्। २०७८ मा चितवन सम्पन्न १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भए। केन्द्रीय सदस्यसँगै एमाले संगठनको महत्त्वपूर्ण मानिने  उद्योग विभागको उपप्रमुख पनि बने।

प्रसाईंले महत्त्वपूर्ण जिम्मेवारी लिँदै गर्दा लामो समय पार्टी राजनीति गरेका व्यक्तिलाई भने पार्टीले अनदेखा गर्‍यो। प्रसाईं ओलीका यति प्रिय थिए कि उनी ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्थे। चार वर्षअघिको दसैँमा ओलीको हातबाट टीका लगाएर शुभकामना लिँदै प्रसाईं एमाले पार्टी प्रवेश गरेका थिए। प्रसाईं र ओलीको सम्बन्ध दुई वर्ष मात्र सुमधुर भएको एमालेका नेताहरू बताउँछन्।

ओली र प्रसाईंको राजनीति उदय झापाबाटै भएको हो। ओली झापा आन्दोलनबाट र प्रसाईं झापाबाटै माओवादी आन्दोलनमा होमिएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड परिवारको विश्वास पात्रको रूपमा प्रसाईं गनिन्थे। उनी भन्थे, ‘मैले प्रचण्डका छोरीहरूलाई आर्थिक सहयोग गरेको छु। अझै पनि गर्छु।’

२०७७ फागुनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् अवस्थामा  फर्किएपछि प्रसाईं एमालेतर्फ लागेका थिए। ओली प्रधानमन्त्री थिए। सधैँ शक्तिको पछि लाग्ने प्रसाईं ओलीतिर लागे भने प्रचण्डसँग छुट्टिए।  एमालेले प्रसाईंलाई प्रचण्डमाथि प्रहार गर्ने पात्र रूपमा प्रयोग गरेको थियो। त्यसपछि ओलीको पनि विश्वासपात्रका रूपमा प्रसाईंले काम गरे।

प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’को अवैध रकमले झापामा मेडिकल व्यवसायी गरेको आरोपसमेत खेप्दै आएका छन्। यस विषयमा प्रचण्ड र प्रसाईं दुवैले खण्डन गरिसकेका छन्।

प्रचण्डकै कारण ओलीसँग नजिकिएका थिए प्रसाईं

२०७४ सालको निर्वाचनका बेला तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको बहस सुरु भयो। शीर्ष नेताहरूबीच छलफल पनि भयो। एकीकरणको छलफलका लागि प्रसाईंको निवासमा मार्सी चामलको भात खाँदै ओली र प्रचण्डले पार्टी एकीकरणको सहमति गरेका थिए। त्यति बेला प्रसाईं र मार्सी चामलको खुबै प्रचार भएको थियो। प्रसाईंको घरमा भएको छलफलपछि नेपाल कम्युनिस्ट पार्टी बन्न सफल भएको एमाले नेताहरूको भनाइ छ।

माओवादीका एक नेताका अनुसार दुई अध्यक्षलाई आफ्नो भक्तपुर निवासमा गोप्य छलफलको मिलाउन प्रचण्डले सल्लाह दिएका थिए। प्रसाईंको निवासमा भएको छलफलपछि ओली र प्रसाईंबीच सम्बन्ध सुमधुर भएको थियो। माओवादी आन्दोलनमा जेलसम्म भोगेर व्यवसायमा लागेका प्रसाईं प्रचण्डकै कारण ओलीसँग जोडिन पुगेको एमाले नेताहरूको भनाइ छ।

मेडिकल व्यवसायबाट पनि देशलाई विकाससँगै स्वास्थ्य क्षेत्रलाई सुधार्ने सकिन्छ भनेर यो पेसा रोजेको प्रसाईंले बताउँदै आएका छन्। त्यो समयमा जोखिम  मोलेर सुदूरपूर्वमा अस्पताल र कलेज निर्माण सुरु गरेको पनि प्रसाईंले दाबी गर्दै आएका छन्। ओलीसँग भएको हरेक भेट र अनेकौँ वार्ताबाट प्रसाईं ओलीको भिजनप्रति बढी आशावादी भएको एमालेका एक नेताले हिमालप्रेसलाई जानकारी दिए।

नेकपा पार्टी निर्माणको सुरुवाती सहमति आफ्नै निवासबाट गरेका प्रसाईंले ओलीकै सल्लाहमा महाअभियान थालेको ती नेताले अनुमान छ। ‘प्रसाईंले प्रचण्ड र केपी ओलीको नाडी छाम्न भ्याए। नेकपा संकटमा परेका बेला जोगाउन दुवै अध्यक्षलाई फेरि भेटाएर कोसिस खुबै गरे। असफल भएपछि एमालेमै हुँदा उनले ओलीलाई पूर्वमा जनसमर्थन ल्याउन महाअभियान सुरु गर्ने भनेर सल्लाह गरेका थिए’, ती नेताले भने।

आफ्नो कलेजले सम्बन्धन नपाएको संघर्षमा लडिरहेका प्रसाईं नेकपा विभाजनपछि झस्किएको ती नेताको बुझाइ छ। ती नेताको दाबी छ, ‘जब नेकपा पार्टीभित्र संकट उत्पन्न भयो तब उनले अहिलेको जस्तै महाअभियान सुरु गर्ने योजनाका साथ राजासँग भित्री रूपमा भेटिसकेका थिए।’ दुवै अध्यक्ष काँधमा बोकेर हिँडेका प्रसाईं भने आफ्नो मेडिकल कलेजको सम्बन्धन पाउन नसकेपछि राजावादी आन्दोलन सुरु गरेको ती नेता बताउँछन्।

देश विकासका लागि युवा पुस्ता अघि सारेर राजनीतिमा सक्रिय हुने योजनाका साथ महाअभियान सुरु गरेको प्रसाईंको भनाइ छ। उनले भने, ‘मैले ‘हजुरबा’सँग सम्बन्ध बिगार्न खोजेको होइन। उहाँले नै प्रसाईंमाथि आक्रमण गर भनेर युवा संघ खटाइरहनुभएको छ। यसमा मेरो के दोष छ र ? यसको जवाफ ओली नै दिनुहुन्छ।’

आफूलाई देशको चिन्ता भएर महाअभियानमा होमिएको दाबी उनको छ। ‘मेरो अभियानमा जनताकाे आकर्षण देखेर एमालेलाई डाहा लाग्यो। भएको यति मात्र हो। मैले पदको आस नगरी ओलीको भिजन राम्रो लागेर एमाले प्रवेश गरेको थिएँ। तर ‘पछि गफै त हो सम्धी’ जस्तै लागेपछि ओलीको साथ र एमाले छाडेँ,’ उनले भने।

महंगो गाडी उपहारको चर्चा

ओलीले दोस्रो पटक गरेको संसद् विघटन पनि सर्वोच्च अदालतसम्म पुगेर असंवैधानिक ठहर भएपछि प्रधानमन्त्रीबाट हट्नुपरेकाे थियो। पद खुस्किएपछि ओली गृहजिल्ला झापा पुगेका थिए। त्यति बेला प्रसाईंले ओलीलाई निकै महंगो गाडी लिएर स्वागतका लागि भद्रपुर विमानस्थल पुगेका थिए। भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न पुगेको नेताकार्यकर्ताको वास्ता नगरी ओली प्रसाईंकै गाडी चढेर हिँडेका थिए।

सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ। तर ओली भने प्रसाईंकै गाडीमा चढेर विभिन्न कार्यक्रममा पुगे। विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिए पनि ओली प्रसाईंको गाडीमा झापाको विभिन्न स्थानमा कार्यक्रममा पुगेपछि ओली र प्रसाईंको सम्बन्धका बारेमा चर्चासमेत भएको थियो ।

प्रसाईंले त्यो गाडी ‘हजुरबा’लाई उपहार दिएको पत्रकारहरूलाई जानकारी गराए। सामाजिक सञ्जालमा यसको विरोध भए पनि एमालेका नेताहरूले ओलीको बचाउ गरे ओलीले चाहिँ केही प्रतिक्रिया दिएनन्।

यसरी बिग्रियो ओली र प्रसाईंको सम्बन्ध

प्रसाईं झापा-३ बाट एमालेबाट प्रतिनिधिसभामा उठ्ने तयारीमा जुटेका थिए। उनले झापा-३ मा आफ्नो उपस्थितिसमेत बढाएर चुनावी वातावरण बनाएका थिए। तर २०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रसाईंलाई एमाले टिकट दिएन। त्यसपछि ओली र राजेन्द्र लिङ्देनसँग रुष्ट भएका प्रसाईं महाअभियानमा लागे। उनले फागुन १ गते महाअभियानको घोषणा गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार उपस्थित गराएका थिए।  आफूले राजसंस्था र राष्ट्रवादी आन्दोलनको सुरुवात गरेको प्रसाईंले घोषणा गरे।

पूर्वराजा ज्ञानेन्द्रको नाम सुन्ने बित्तिकै तर्सिने नेताहरूसमेत भएको एमालेमा प्रसाईंको महाअभियानको विषयलाई लिएर उनीमाथि कारबाहीको आवाज उठ्यो। उनले गत चैतमा राजसंस्थाका पक्षमा गतिविधि गरेको भन्दै एमालेले कारबाहीसमेत गर्‍यो। तर कारबाही गर्नुअघि नै प्रसाईंले एमाले त्यागेको घोषणा गरेका थिए।

प्रसाईं ओलीले सांसदकाे टिकट नदिँदा जति रुष्ट थिए। ओलीले राजेन्द्र लिङ्देनलाई साथ दिएपछि त्योभन्दा बढी ओलीसँग बिच्किएको एमालेकै नेताहरू बताउँछन्। ओलीले भने प्रसाईंको महाअभियानलाई सामान्य रूपमा हेर्दै आएका छन्।

दसैँअघि प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको एक पत्रकार सम्मेलनमा जानकारी दिए। यो विषयमा विभिन्न भारतीय सञ्चारमाध्यमले समेत समाचार छापेको बताउँदै प्रसाईंले त्यसको प्रमाण आफूसँग भएको दाबी गरे। आरोपपछि ओली उनीप्रति थप आक्रामक हुँदै झापामा भएका धेरै कार्यक्रममा गालीसमेत गर्न भ्याए। दुई साताअघि पोखरामा भएको एक कार्यक्रममा प्रसाईंको भनाइलाई खण्डनसमेत गरेका थिए ओलीले।

ओलीका बारेमा हल्ला फैलाएपछि प्रसाईंमाथि युवा संघ पनि खनिन थालेकाे छ। प्रसाईंले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा गत असोज २२ गते युवा संघका कार्यकर्ताले उनीलाई कालोमोसो छ्यापेका थिए । त्यसपछि प्रसाईंको विरोधमा एमालेका नेता महेश बस्नेतले कालोमोसो छ्यापेको सामाजिक सञ्जालमा स्टाटससमेत लेखेका थिए।

गत असोज २५ गते झापाको अर्जुनधारा नगरपालिका आयोजित युवासंघको कार्यक्रमा प्रसाईं समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरेको युवा संघको आरोप छ। उक्त कार्यक्रममा एमाले नेता बस्नेत पनि सहभागी थिए। बस्नेत सहभागी कार्यक्रममा पहिचानवादीले गाडी तोडफोड गरेको जिम्मा लिए पनि युवा संघले भने प्रसाईंका सर्मथक कार्यक्रमस्थलमा प्रवेश गरी गाडी तोडफोड गरेको आरोप लगाए। त्यसपछि युवा संघ र प्रसाईं सर्मथकबीच केही स्थानमा झडपसमेत भएको छ।

दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि ओलीको दबाब

व्यवसायी प्रसाई र युवा संघ भिडाउँदै ओली!

प्रकाशित: २१ कार्तिक २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast