३ दशकदेखि बायोग्यासमा खाना पकाउने भण्डारी परिवार

हिमाल प्रेस १२ मंसिर २०८० १३:२५
10
SHARES
३ दशकदेखि बायोग्यासमा खाना पकाउने भण्डारी परिवार

पोखरा- बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युत्ंको पहुँच भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ।

यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक दुई रुपैयाँदेखि तीन हजारसम्म खर्च हुने गर्दछ। तर यहाँका थोरै घरका बासिन्दाले अहिले पनि ३० वर्षदेखि निरन्तर बायोग्यासमै खाना पकाउने गर्दछन् र त्यसका लागि हुने खर्च बचत गरिरहेका छन्।

यस्तै, परिवारमा पर्दछ, पोखरा महानगरपालिका–१० महतगौँडा सरस्वती भण्डारीको परिवार। उनको घरमा २०५१ सालमा आठ घनमिटरको बायोग्यास प्लान्ट जडान भएको हो। पहिलेको घरधनी पुष्पराज शर्माले सो प्लान्ट जडान गराएका थिए।

उनले नै १४ वर्ष निरन्तर चलाएका थिए। पुष्पराजसँग घर किनेपछि सरस्वतीको परिवारले पनि त्यस प्लान्टलाई निरन्तर प्रयोगमा ल्याउँदै आएको छ। २०६५ सालमा घर किनेपछि प्लान्टमा पनि सामान्य मर्मत, रंगरोगन गरेपछि राम्रोसँग सञ्चालन हुँदै आएको उनी बताउँछन्।

उतिबेला खाना पकाउनका लागि नजिकको जंगलमा दाउरा लिन जानुपर्ने, भान्छामा घण्टौँसम्म धुवाँमा बसेर खाना पकाउनुपर्ने र कालो भाँडाकुँडा मस्काउँदाका पीडा उनले बिर्सेको छैन। घरमा पहिले नै बायोग्यास प्लान्ट सञ्चालन भएको देखेपछि उनले आफ्ना विगतका दुःख सम्झँदै घर किन्न आफूले श्रीमान् लोकराज भण्डारीलाई सल्लाह दिएको बताउँछन्।

उनी बिहान एक घण्टा र साँझ एक घण्टा खाना पकाउन र दिउँसोको समयमा पनि चिया पकाउन बायोग्यास नै प्रयोग गर्छन्। उनको घरमा एलपी ग्यास नभएको पनि होइन।

‘सकभर म बायोग्यास नै बाल्छु, कुनै कुनै दिन नपुगेमा भने एलपी ग्यास बाल्ने गरेको छु। एक सिलिन्डर ग्यासले चार महिना सजिलै पुग्ने गर्दछ’, उनी भन्छन्, ‘छिमेकीको घरमा एक सिलिन्डरले एक महिना पुर्‍याउन धौधौ हुने गरेको भन्छन्। यस हिसाबले त मलाई बायोग्यासबाट महिनामै एक हजार पाँच सय रुपैयाँ त बचत भएको छ। बायोग्यास निःशुल्क पाउने हुँदा एलपी ग्यास बाल्दा पैसा सकिएजस्तो लाग्छ।’

चिसो मौसममा भने केही कम बायोग्यास प्लान्टबाट ग्यास आउने गरेको उनको अनुभव छ।
घरमा पालेको एउटा भैँसीको गोबर, शौचालय, भाडामा सञ्चालन गर्न दिएको चियापसल र भान्छाको जैविक फोहर डाइजेस्टरमा कुहिएर निस्कने ग्यास नै उनको भान्छामा खाना पकाउने ऊर्जाको मुख्य स्रोत बनेको छ।

छजनाको उनको परिवारको मुख्य आयस्रोत भनेको खेतीपाती नै हो। बायोग्यास प्लान्टबाट निस्केको स्लरीलाई घरनजिकैको बारीमा लगाउँदा तरकारी खेती राम्रो भएको उनी बताउँछन्। घरबारीमा बायोग्यासको स्लरी राख्न थालेपछि आफ्नो बारीको तरकारीले पुगेपछि बजारबाट किनेर ल्याउनुपर्ने समस्या पनि परेको छैन।

यसले पैसाको बचतसँगै विषादी राखेको तरकारी खानुपर्ने बाध्यता पनि नरहेको बुहारी अस्मिता आचार्य बताउँछन्। उनी भन्छन्, ‘भान्छामा काम गर्न पनि सजिलो हुँदा घरमा ससुरा, श्रीमान्ले पनि खाना पकाउन सहयोग गर्नुहुन्छ। भान्छाको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच हाम्रो घरमा छैन, जसलाई फुर्सद हुन्छ उसैले गरिन्छ।’

पोखरा महानगरपालिका–१३ बीपीमार्ग कुँडारका रुद्रमान श्रेष्ठको परिवारलाई पनि बजारमा एलपी ग्यासको अभाव हुँदा पनि कुनै चिन्ता हुँदैन। २९ वर्षअघि २०५१ सालमा जडान गरेको आठ घनमिटरको बायोग्यास प्लान्टले उनको भान्छामा बिहान एक घण्टा, बेलुका एक घण्टा सजिलैसँग खाना पकाउन पुग्ने गरेको छ।

झन्डै १० वर्षअघि केही समय बिग्रेर ग्यास उत्पादन नभएपछि केही मर्मत गरी चलाउँदा अहिले निरन्तर ग्यास आइरहेको उनी बताउँछन्। छिमेकका कतिपय घरमा सुरुमा बायोग्यास जडान गरे पनि पछि एलपी ग्यास र बिजुलीको प्रयोग हुन थालेपछि प्लान्टलाई हटाएका थिए।

समयसमयमा एलपी ग्यास नपाइने, महँगो हुने र बिजुलीमा खाना पकाउँदा पनि झ्याप्पझ्याप्प बत्ती जाँदा खाना बिग्रने हुँदा अहिले बायोग्यास प्लान्ट हटाएकामा पछुतो मान्ने गरेको उनको भनाइ छ।

झन्डै ३० वर्ष शिक्षण पेसा गरी निवृत्त भएका रुद्रमानको परिवारमा पाँचजना छन्। उनले १५ वर्षदेखि नै वस्तुभाउ पाल्न छाडिसकेका छन्। उनले दुई परिवारलाई चार कोठा भाडामा पनि दिएका छन्।

३ परिवारले प्रयोग गर्ने शौचालय र भान्छाको जैविक फोहरबाट निस्कने ग्यासले नै उनलाई करिब पुग्ने गरेको छ। चिसोको समयमा र घरमा धेरै जना पाहुना आउँदा बायोग्यासले नपुगेको अवस्थामा मात्रै आफूले एलपी ग्यासको चुलो प्रयोग गर्ने गरेको उनकी श्रीमती सरला बताउँछन्।

गोबरग्यास तथा कृषियन्त्र प्रालिमा मेसिनका रूपमा आफूले ३० वर्षअघि जडान गरेका प्लान्टहरु राम्ररी चलेको देख्दा अर्जुन गुरुङलाई निकै सन्तुष्टि मिल्छ। नियमित सञ्चालन र समयसमयमा मर्मतसम्भार गर्न सकेमा तिसौँ वर्षसम्म पनि बायोग्यास प्लान्ट चलेका यस्ता थुप्रै उदाहरण रहेको उनको भनाइ छ।

त्यतिबेला गाउँमा विद्युत्को पहुँच नहुँदा र सौर्य घरेलु प्रणालीको प्रयोग नभएका बेला बायोग्यासबाट खाना पकाउने र बत्ती बाल्नका लागि उपभोक्ताको माग पूरा गर्न धौधौ हुन्थ्यो। अहिले ग्रामीण बस्तीमा समेत सडक र विद्युत् लाइन विस्तार भएसँगै एलपी ग्यास र बिजुलीमा खाना पकाउने सुविधा भएपछि बायोग्यासको प्रयोग कम भएको छ।

घट्दो गाईवस्तु पाल्ने क्रम र बढ्दो बसाइँसराइले पनि भएका बायोग्यास प्लान्ट प्रयोगमा नआएर मिल्किएको देख्दा भने उनी निकै चिन्तित बन्छन्। रासस

 

प्रकाशित: १२ मंसिर २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast