बझाङ- तलकोट गाउँपालिका-६ का महिलाले गाउँघरमा अल्लो प्रशोधन गरेर धागो र कपडा बुनेर आयआर्जन थालेका छन्।
यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि डोरी बनाएर गाईबस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे । ज्ञान सीपको अभावका कारण जंगलमै कुहिएर खेर जाने गरेको थियो।
अहिले स्थानीयस्तरमै अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोला बनाउने तालिम लिएपछि यहाँका महिलाहरुले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयका रूपमा दर्ता गरी व्यावसायिकरूपमा अल्लोको धागो र अल्लोको कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न सुरु गरेका छन्।
जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि उनीहरु व्यवसाय सञ्चालन गर्न अग्रसर भएका हुन्। जंगलमा त्यतिकै खेर गइरहेको अल्लोबाट धागो र कपडाहरु उत्पादन गरी प्रत्यक्ष र अप्रत्यक्षरूपमा घरमै रोजगारी सिर्जना गर्ने र समूहका महिला आत्मनिर्भर हुने भएपछि स्थानीय महिला व्यवसायमा लाग्न हौसिएका छन्।
एक महिनासम्म सञ्चालन गरिएको तालिममा अल्लोको धागो बनाउने र त्यसबाट कपडा बुन्ने प्रशिक्षण दिइएको थियो। तालिममा २८ महिला र दुई पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो।
समूहका महिलाले अल्लो व्यवसायको महत्व बुझी अल्लो व्यवसाय सञ्चालन गर्न सीप तालिम र आवश्यक पर्ने मेसिन औजारहरूको माग गरेपछि मेसिन औजार र तालिम सञ्चालन खर्च गाउँपालिकाले व्यहोरेको थियो।
उनीहरूलाई व्यवसाय सञ्चालन गर्न मेसिन औजारका साथै कच्चा पदार्थ खरीद गर्न गाउँपालिकाले नगद एक लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो भने व्यवसाय दर्ता गर्न र अन्य प्राविधिक सहयोग जिआइजेडको रिप कार्यक्रमले गरेको थियो।
एक महिनाको तालिमपछि उनीहरूलाई थप दक्ष बनाउन र थप मेसिन खरिद गर्न कार्यक्रमले सहयोग गरेको कार्यक्रमका क्लस्टर कोर्डिनेटर सुरतबहादुर चन्दको भनाइ छ।
तालिमका सहभागीहरूले अहिले व्यवसायबाट अल्लोको धागोबाट बुनिएका दोसल्ला र टोपी उत्पादन गरेका छन्। कतिपयले अल्लोको धागो काठमाडौँमा पठाएर एक पटकमै २० हजार रुपैयाँ आम्दानी पनि गरेका छन्।
तालिमपछि आफूहरू व्यवसायप्रति आकर्षित हुनुको साथै सामूहिक भावनाको पनि विकास भएको औद्योगिक ग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीले बताइन्। उनी भन्छन्, ‘सबै समूहका महिला मिलेर स्थानीयस्तरमा कुहिएर जान लागेको कच्चा पदार्थको सदपयोग गरी अरूलाई पनि रोजगारी दिने सोच बनाएका छौँ।’
कतिपयले घरायसी प्रयोजनका लागि अल्लोका सामग्री लैजाने गरेको र कतिपयले उपहारका लागि पनि लैजाने गरेको उनी बताउँछन्। अहिले समूहले एक लाख २२ हजार पाँच सय धागो र कपडा बचेर आमदानी गरेको छ।
धागो पाँच सय रुपैयाँ प्रतिकिलो र कपडा एक हजार दुई सय मिटरका दरले बिक्री भएको थियो। जंगलमा खेर गइरहेको अल्लोको प्रशोधन गरी गाउँघरमैै रोजगारी सिर्जना गर्न सकिने भएकाले लगानी गरिएको पालिका अध्यक्ष कलकबहादुर रोकायाले बताए।
उनले भने, ‘युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने कच्चा पदार्थ कुहिएर गएको छ, कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गर्दा कम लगानीमै राम्रो आम्दानी गर्न सकिन्छ । यसले पालिकाका विपन्न वर्गका वासिन्दाको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्दछ।’
अल्लो व्यवसायबाट, अल्लो संकलन, अल्लोको धागो उत्पादन, अल्लोको कपडा उत्पादन र अल्लोको अन्य विभिन्न वस्तुहरु उत्पादन गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै व्यक्तिले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।
बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ। केही महिनाअघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उद्देश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रावलले बताए।
कुनै पनि सार्वजनिक कार्यक्रमहरु सञ्चालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लोबाट प्रशोधित गरी तयार पारीएका खादा र टोपीमात्रै प्रयोग गर्न पाउने नियम बनाइएको छ। गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा समेत उक्त अल्लोबाट उत्पादित खादा, टोपीलाई प्रयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताए।
पालिकाले मातहतमा उद्योग ग्राम सञ्चालनमा समेत ल्याएको छ। उक्त उद्योगग्राममा अल्लोबाट नै गलैंचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता धामीले बताइन्। रासस