देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

हिमाल प्रेस ५ कार्तिक २०८० १४:४१
8
SHARES
देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम बडादसैँको आठौँ दिन महाअष्टमी पर्वका अवसरमा आइतबार बागलुङस्थित कालिका भगवती मन्दिरमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन। तस्बिर :रासस

काठमाडौँ- दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ।
दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो। नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भए पनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ। यी मन्दिरमा झकिझकाउ बनाएर सिँगारिनुका साथ बेलुकी झिलिमिली बत्ती सजाइएको छ।

शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ। देवीका भजन, मंगल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ। मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ। बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्।

नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन्। कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन्।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ। पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ। नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ। नवौँ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ।

प्रकाशित: ५ कार्तिक २०८० १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast