काठमाडौँ- नागरिक अगुवाहरूले सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन्। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सहिष्णुताका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय भएरु लाग्न अपिल गरेका हुन्।
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, डा. द्वारिकानाथ ढुङ्गेल, एस. के. तिमिल्सिना, डा. राजेश अहिराज, अधिवक्ता युवराज कोइराला, धार्मिक अभियन्ता सुवास ढकाललगायत १८ नागरिक अगुवाले विज्ञप्ति जारी गरेका हुन्।
‘केही समय अघि धरान र सर्लाहीमा भड्किन खोजेको साम्प्रदायिक विद्वेषको कलहबाट मुलुक अझै निस्किसकेको छैन, यस्तो अवस्थामा नक्कली फेसबुक आईडीबाट भएको कमेन्टबाट नेपालगन्जमा सुरु भएको साम्प्रदायिक विद्वेषको घटनाले सबैलाई एकपटक फेरि झकझकाइ दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साम्प्रदायिक भड्कावमा मलजल गर्ने कुतत्वले मुलुकलाई जातीय र धार्मिक द्वन्द्वमा झनै फसाउने डर उत्पन्न भएको छ। तसर्थ नेपाल सरकारले प्रचलित कानूनको अधिनमा रही नेपालगन्जको स्थितिलाई भड्किन नदिन जे जस्ता कदम चालिनुपर्ने हो, चाल्नु पर्दछ भन्ने ठान्दछौँ।’
साथै उनीहरूले धरान, सर्लाही र नेपालगन्जमा घटेका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीको माग पनि गरेका छन्।