सिरहा- सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैधरूपले ल्याई लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बीओपी) लगडिगदियाले ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। गाईगोठमा राखेको उक्त लत्ताकपडा के प्रयोजनको लागि राखिएको खुलेको छैन।
पछिल्लो समय नजिकिँदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको डीएसपी थापाले बताए।
बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।