के टु हिमाल चुम्दा पूर्णिमाको अनुभव : आफ्नै मृत्युको कामना गरेँ

विजय नेपाल १७ साउन २०८० १३:२४
382
SHARES
के टु हिमाल चुम्दा पूर्णिमाको अनुभव : आफ्नै मृत्युको कामना गरेँ

पोखरा-आरोही पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो अग्लो हिमाल केटु चढ्न निकै गाह्रो भएको प्रतिक्रिया दिएकी छन्। उक्त हिमालको हालै सफल गरेकी उनले यस्तो अनुभव व्यक्त गरेकी हुन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमामा लेखेकी छन्, ‘८ हजार मिटरको सबैभन्दा गाह्रो हिमाल हो यो, मलाई एकदमै गाह्रो भयो।’

उनले आरोहणका क्रममा सहन नसक्ने कष्ट भोक्नुभन्दा आफ्नै मृत्यु नै होस भनेर कामना गरेको बताएकी छन्। ‘होसमा रहनुभन्दा बेहोस नै होस भनेर इच्छा गरेँ, तर सबै होसमा र जीवितमा भोगेँ अनि बाँचे केटु हिमालबाट’, उनले लेखेकी छन्। यस्तै आरोहणमा सघाउने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छन्।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने अभियानमा रहेकी गोरखाकी पूर्णिमा माउन्ट केटु आरोहणका निम्ति जेठ अन्तिम साता पाकिस्तान लागेकी थिइन्। ७५ दिनको यो लामो आरोहण उनले ३० जेठदेखि सुरु गरेकी थिइन्। उनले इस्लामाबाद हुँदै उक्त हिमाल चढेकी हुन्। ८ हजार ६ सय ११ मिटर उचाइको यो हिमाल चढ्ने नेपाली महिलामा उनी चौथो हुन्।

माउन्ट केटु आरोहणका लागि जोखिमयुक्त हिमालका रुपमा चिनिन्छ। त्यसैले यसलाई किलर माउन्टेनको समेत उपमा दिइएको छ।

विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै छन्। श्रेष्ठले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। यहाँको चोयु उनी चढ्न बाँकी छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। यो हिमाल तिब्बततिरबाट चढ्नुपर्छ ।

उनले ६ वर्षअघि आफ्नै जिल्ला गोरखाकै मनास्लु हिमालबाट आरोहण सुरु गरेकी हुन्। २०७४ सालमा पहिलो पटक उनी मनास्लुको सफल आरोहणसँगै उत्साहित भएकी उनी अर्को वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) आरोहण गरिन्।
यसपछि उनले अन्नपूर्ण (८,०९१ मिटर) र धौलागिरि (८,१६७ मिटर) चढेर उक्त हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्डसमेत राखिन् ।

गोरखा आरुघाट ९ की पूर्णिमा चन्द्रप्रसाद र गंगाकी एकमात्र छोरी हुन्। पूर्णिमा पेसाले फोटो पत्रकार हुन्। उनले २०७५ जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर उनको अदम्य साहसको सर्वत्र प्रशंसा सुरु भएको थियो।

सबै तस्बिरहरू- पूर्णिमाको फेसबुकबाट

प्रकाशित: १७ साउन २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =