बजेटको तयारीमा स्थानीय तह

हिमाल प्रेस २७ जेठ २०८० १६:१२
2
SHARE
बजेटको तयारीमा स्थानीय तह

दोधरा चाँदनी- कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निमार्णको तयारीमा जुटेका छन्। यहाँका सात नगरपालिका र दुई गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्न जुटेका हुन्। ‘वडाका जनप्रतिनिधि अहिले आ-आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमबारे छलफल गरी योजना बनाउन जुटेका छौँ,’ कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले भने।

असार १० गते बस्ने नगरसभाबाट बजेट ल्याउने गरी तयारी भइरहेको उनले बताए। नगरप्रमुख ओझाले स्थानीय स्रोतसाधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारमा जोड दिने उनको भनाइ थियो।

आगामी आर्थिक वर्षको बजेटमार्फत नगरपालिकामा रोजगार केन्द्र स्थापना गरिने उनको भनाइ थियो। त्यस्तै भीमदत्त नगरपालिकाले पनि असार ७ गतेको नगरसभामा बजेट पेस गर्ने तयारी गरेको छ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले सबै वडामा बस्ती भेला सकेर भेलाबाट आएका योजना वडा समितिमार्फत नगरसभामा पठाउने काम भइरहेको बताए। ‘अहिले बस्ती भेलाबाट आएका योजना प्राथमिकताका आधारमा सभामा पठाउने काम भइरहेको छ,’ उनले भने, ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकताका आधारमा आगामी वर्षको बजेटमा समावेश गरिनेछ।’

त्यस्तै दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए। अहिले सबै वडामा टोल भेलाबाट योजना छनोट भइरहेको उनले बताए। ‘बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौँ,’ उनले भने, ‘विगतको तुलनामा यस पटकको बजेट फरक हुन्छ।’

बस्ती भेलामा सहभागीहरूले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन्। सामान्यता स्थानीयले सीपमूलक तालिम, सडक निर्माण, ढल निकास, विद्युत्का समस्यालगायत माग गरेका छन्।

स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट हुने गरेको छ। स्थानीय तहले गएको वैशाखमा संघ र प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी मार्गदर्शन पाइसकेका छन्।

साथै वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गरिएको पनि यहाँका स्थानीय तहले बताएका छन्। जेठ मसान्तसम्म बस्ती तथा टोलस्तरबाट योजना छनोट गरिसक्ने र असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। रासस

प्रकाशित: २७ जेठ २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =