उदयपुर भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी सरकारको सहयोग

हिमाल प्रेस २६ जेठ २०८० १२:१७
4
SHARES
उदयपुर भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी सरकारको सहयोग

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ। उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ।

कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिन्डर ५ थान र पल्स अक्समिटर डिजिटल २ थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीको भनाइ छ। उक्त सामग्री र उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्यांबो (लिम्बू)ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे।

सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्यांबोको भनाइ छ। उनले कोशी प्रदेशका सबै अस्पताल र सामुदायिक उपचार केन्द्रलाई प्रदेश सरकारले स्तरोन्नति गरेर भौतिक तथा प्राविधिक रूपमा दक्ष तथा व्यवस्थित बनाउने योजना प्रदेश सरकारको रहेको बताए।

कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गरे।

०६८ भदौ १७ गतेदेखि सञ्चालनमा ल्याइएको भुल्केको सर्पदंश उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र हालसम्म उत्कृष्ट सेवा प्रवाह भइरहेको उपचारमा संलग्न नेपाली सेनाका सहसेनानी डा. मनिष यादवको भनाइ छ।

उनका अनुसार पछिल्लो ४ वर्षको अवधिमा क्रमशः ०७६ मा २ सय ९६, ०७७ मा ३ ३ सय ७३, ०७८ मा ४ सय २६ र ०७९ मा ४ सय २५ जना उपचारपछि स्वस्थ्य भई घर फर्किएको उनले बताए।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले समेत भुल्केको सर्पदंश उपचार केन्द्रलाई प्राविधिक र व्यवस्थापनका हिसाबले सुदृढीकरण र सबल बनाएर लानुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र भुल्के नेपाली सेना १८ बाहिनीका सहायक बाहिनीपति प्रेम हमालले सर्पदंश उपचार केन्द्रलाई दक्ष र सबल बनाएर सञ्चालन गर्न सके यस क्षेत्रका जनताले प्रभावकारी सर्पदंशको उपचार पाउन सक्ने बताए।

प्रकाशित: २६ जेठ २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =