जनताको शोषण गर्नेविरुद्ध कलम चलाउने बेला आयो : माधव नेपाल

हिमाल प्रेस २६ जेठ २०८० ११:२६
6
SHARES
जनताको शोषण गर्नेविरुद्ध कलम चलाउने बेला आयो : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको संविधानले दिएका सबै अधिकार जनताले पाउन नसकेको बताएका छन्।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको शुक्रबार काठमाडौँमा सुरु प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

संविधानले जनतालाई धेरै अधिकार दिए पनि शोषक, सामन्त, जाली, फटाहा, पूँजीवादीहरूले जनतालाई शोषण गरेर संविधानले दिएका अधिकारबाट वञ्चित गरेको उनको भनाइ छ।

यस्तो वर्गबाट संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलापविरुद्ध कलम चलाउन उनले पत्रकारहरूलाई अनुरोध गरे।

‘समाजमा राम्रा नराम्रा सबै प्रवृत्तिका मान्छे हुन्छन्, राम्रा नराम्रा काम हुन्छन् ती सबै विषय बाहिर आउन्। आग्रह पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन। संविधानको रक्षा गर्ने गरी काम गर्नुपर्छ,’ उनले भने।

नेपालको संविधानले सबै हक अधिकारको प्रत्याभूत गरेकाले संविधानको रक्षा सबैको पहिलो कर्तव्य भएको उनले बताए।

‘हाम्रो संविधानले संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ। समाजवादमुखी अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ। संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप अघि बढ्छ भने त्यसका विरुद्ध कलम चलाउनुहोस्,’ पूर्वप्रधामन्त्रीसमेत रहेका उनले भने, ‘जनतामा चेतना जगाउन पत्रकारहरूको ठूलो भूमिका हुन्छ। त्यसैले जनताको चेतना जगाउनुस्। देशको स्वाभिमान र स्वाधीनता रक्षाका लागि निरन्तर लाग्नुहोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =