सुर्यविनायक नगरमा करारका स्वास्थ्यकर्मीले तलब पाए, सरकारीले पाएनन्

हिमाल प्रेस २५ जेठ २०८० ९:०५
4
SHARES
सुर्यविनायक नगरमा करारका स्वास्थ्यकर्मीले तलब पाए, सरकारीले पाएनन्

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाउन सकेका छैनन्। नगरभित्रका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत १ सय बढी स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब नपाएका हुन्।

चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए।

करिब ७० स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले माघ महिनादेखि तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनको भनाइ छ।

नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन्।

‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवम् स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने५महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ,’ उनले भने।

एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरूलाई समस्या भएको छ। यहाँका कर्मचारीका लागि मासिक करिब ४५ लाख रुपैयाँ तलबमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ।

सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको लेखा शाखाको दाबी छ। सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको नगरपालिकाका लेखापाल महेश भट्टराईले बताए।

तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताउँदै उनले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेर रकम माग गरिरहेको जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =