चितवनमा मकै र ढोडबाट साइलेज बनाउने उद्योग सञ्‍चालनमा

हिमाल प्रेस २५ जेठ २०८० ६:५६
6
SHARES
चितवनमा मकै र ढोडबाट साइलेज बनाउने उद्योग सञ्‍चालनमा

चितवन– दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका-१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन सुरु गरेको हो।

उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०/५० प्रतिशत लगानी छ।

कूल ४२ लाख ३५ हजार लागतमा स्थापना भएको सो उद्योगको बुधबार भरतपुर-१३ का वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन गरे।

उनले साइलेज उद्योग स्थापनाले यस क्षेत्रका किसानले लाभ प्राप्त गर्ने बताए। गुणस्तरीय दूध उत्पादनसँगै गाई भैंसी पनि स्वस्थ रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गरिने उनको भनाइ छ।

सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने सहकारीका अध्यक्ष होमनाथ सुवेदीले बताए। महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता रहेकामा किसानलाई अब उद्योग स्थापनापश्चात् राहत पुग्ने उनले विश्वास व्यक्त गरे।

यहाँका किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गरेका छन्।

‘अब स्थानीयस्तरमै उत्पादन हुँदा यसले यहाँका किसानलाई लाभ मिल्ने छ। अहिले पशुपालनमा दाना र आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ। हामी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाको दरले वितरण गर्ने छौँ, यो बजार मूल्यभन्दा सस्तो हो,’ सुवेदीले भने।

०४२ देखि दुग्ध संकलनसँगै पशुपालक किसानका लागि काम गर्दै आएको सो सहकारीले साइलेजको विस्तारका लागि मकै खेतीमा समेत किसानलाई सहयोग गर्ने कार्यक्रम ल्याउँदैछ। चितवन दूधमा आत्मनिर्भर छ।

यहाँका सहकारीले पछिल्लो समयमा व्यावसायिक रूपमा किसानको क्षमता बढाउन काम गर्दै आएका छन्। यहाँबाट काठमाडौँ, पोखरालगायत सहरमा दूध निर्यात हुने गरेको छ। भरतपुर महानगरपालिकाले पनि आफ्नो बजेटबाट प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने गरेको छ।

दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ।

पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ। साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गरिन्छ। गाई भैंसीका लागि साइलेज पौष्टिक आहार हो।

प्रकाशित: २५ जेठ २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =