काेशी प्रदेश : अल्पमतमा परेका मुख्यमन्त्रीकाे राजीनामा माग

हिमाल प्रेस २४ जेठ २०८० २१:१६
2
SHARE
काेशी प्रदेश : अल्पमतमा परेका मुख्यमन्त्रीकाे राजीनामा माग

इटहरी- नेपाली कांग्रेसले काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नैतिक रूपमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुल्ला गरिदिनुपर्ने बताएको छ।

अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनुभन्दा नयाँ सरकारलाई मार्ग प्रशस्त गरिदिनुपर्ने कांग्रेसकाे माग छ। ‘सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको छ,’ नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले भने, ‘अल्पमतमा पर्ने बित्तिकै बिजनेस अभाव भएको भन्दै सदन अनिश्चितकालका लागि स्थगन गर्न हुँदैन।’

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको सरकारले सदनलाई बन्धक बनाएको निष्कर्ष निकालेको छ। सरकारबाट नेकपा माओवादी केन्द्र र जसपा बाहिरिएपछि अल्पमतमा परेको सरकारले बुधबार संसद्‍मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको थियो।

सरकारको अंकगणितमा तलमाथि परेको भन्दै सरकारले नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्न नसक्ने भएकाले बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

अल्पमतमा परेपछि बिजनेस नै अभाव देखाएर प्रदेशसभा बैठक समेत अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेसको आरोप छ। सदनलाई बन्धक बनाउनुभन्दा अगाडि नै राजीनामा दिएर बाटो खुला गर्नुपर्ने कांग्रेसको भनाइ छ।

कांग्रेसका प्रदेश प्रमुख सचेतक भुपेन्द्र राईले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै अल्पमतमा परेको सरकारले नैतिक रूपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यताअनुरूप आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

‘नागरिकका आवाज बोल्ने संसद् जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत् ल्याउनका लागि गरिएको कदमप्रति कांग्रेस संसदीय दल कोशी प्रदेश घोर भर्त्र्सना गर्दछ’ राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २४ जेठ २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =