वितरण सुरु गरिएको भृकुटीमण्डपको धारामै आउँदैन मेलम्चीको पानी

हिमाल प्रेस २४ जेठ २०८० १८:५३
6
SHARES
वितरण सुरु गरिएको भृकुटीमण्डपको धारामै आउँदैन मेलम्चीको पानी

काठमाडौँ- काठमाडौँ उपत्यमा मेलम्चीको पानी वितरण गर्न उद्घाटन गरिएको भृकुटीमण्डपको धारामा पानी आउन छाडेको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपस्थित धारामा केही दिन पानी बगे पनि पछिल्लो समय आउनै छाडेको छ।

२०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण गर्न यही धारा उद्घाटन गरेकी थिइन्। उद्घाटनपछि उक्त धाराबाट सधैँ पानी आउने घोषणा मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरूले गरेका थिए।

तर अहिले पानी आउँदैन। उक्त धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन्। तर धारामा पानी नआएपछि त्यतिकै फर्किन्छन्। धाराको केही संरचना त उक्किसकेको छ। भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेल मेलम्चीको पानी वितरणको अवस्था यही धाराले प्रष्ट गर्ने बताउँछन्।

पानी तिर्खा लागेका बेला धारा देखेर पिउनका लागि धारामा पुग्दा पानी नआएको उनले गुनासो गरे। विभिन्न प्रदर्शनी भइरहने भृकुटीमण्डपको धारासँगै जोडिएको कुनामा प्रायः जुत्ता र चप्पल मेला लाग्ने गरेको छ।

अहिले पनि यहाँ जुत्ता र चप्पल मेला चलिरहेको छ। जुत्ता र चप्पल मेलाका लागि घेरिएको जस्ताले धारालाई पनि ओझेलमा पारेको छ। पानी वितरणको उद्घाटन गरिएकै धारामा पानी नआएपछि सर्वसाधारणको घरको धारामा पानी आउनेमा शंका उब्जाउँछ।

भृकुटीमण्डपमा भेटिएकी बागबजारका स्थानीयवासी समिना खड्गीले आफ्नो घरको धारामा नियमित पानी नआउने बताइन्। एक दिन पानी देखाउन बनाइएको उक्त धाराका लागि कति खर्च भयो होला भनी राजधानीवासीले खोजी गर्नुपर्ने खड्कीको भनाइ छ। रासस

प्रकाशित: २४ जेठ २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =