भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन हुने, माथिल्लो स्टेसनमा पाँचतारे होटल बन्दै

हिमाल प्रेस २४ जेठ २०८० १८:१८
भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन हुने, माथिल्लो स्टेसनमा पाँचतारे होटल बन्दै

बुटवल- भोलि (जेठ २५) देखि लुम्बिनी केबलकारको औपचारिक उद्घाटन हुने भएको छ। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

उद्घाटनसँगै केबलकार व्यावसायिक रूपमा सञ्चालन हुनेछ। केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग कम्पनीको त्रिपक्षीय सम्झौता पनि भएको छ।

सम्झौताअनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउनेछ। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। आइएमईले यसअघि काठमाडौँको चन्द्रागिरि र नवलपरासीको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालन गरिरहेको छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए।

भारतको गोरखपुर, लखनऊलगायत विभिन्न सहरका पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना देखेर बुटवलमा केबलकार बनाइएको उनले बताए। केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ।

पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।

तल्लो स्टेसन समुद्री सतहबाट २ सय ३० मिटर र माथिल्लो स्टेशन ९ सय ४० मिटरको उचाइमा छ। तल्लो स्टेसनबाट १० मिनेटको यात्रामा माथिल्लो स्टेसनमा पुग्न सकिन्छ।

केबलकारको माथिल्लो स्टेसनमा भेज र ननभेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन्। होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणको क्रममा छन्।

केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।

प्रकाशित: २४ जेठ २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =