मृत्यु भइसकेका व्यक्तिका नाममा भत्ता

हिमाल प्रेस २४ जेठ २०८० १५:४१
6
SHARES
मृत्यु भइसकेका व्यक्तिका नाममा भत्ता

दमौली- तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको भेटिएको हो।

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले ५ लाख २५ हजार २ सय ३३ रुपैयाँ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनबाट खुलेको हो।

देवघाट गाउँपालिकाले २४ हजार ४ सय रुपैयाँ, घिरिङ गाउँपालिकाले १ लाख ३५ हजार ९ सय ८० रुपैयाँ, भानु नगरपालिकाले ५३ हजार ६ सय १० रुपैयाँ सामाजिक सुरक्षा भन्दै मृत्यु भइसकेका व्यक्तिको खातामा पठाइएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाले २४ हजार ४ सय रुपैयाँ, बन्दीपुर गाउँपालिकाले २४ हजार १ सय ३१ रुपैयाँ, भिमाद नगरपालिकाले २९ हजार ३ सय १४ रुपैयाँ मृत्युु भइसकेका व्यक्तिको नाममा पठाएको पाइएको हो।

त्यस्तै ऋषिङ गाउँपालिकाले १ लाख १६ हजार ६ सय ३० रुपैयाँ र शुक्लागण्डकी नगरपालिकाले १ लाख १६ हजार ७ सय ५८ रुपैयाँ मृत्यु भइसकेका व्यक्तिको नाममा भुक्तानी गरेको छ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएपछि सामाजिक सुरक्षा नपाउने व्यवस्था गरिएको छ। मृत्युुपछि भत्ता पाउने सूचीबाट हटाएर मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था नियमावलीमा भए पनि स्थानीय तहले रकम निकासा गरेका छन्। मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता वितरण गर्ने काम रोक्नुपर्ने महालेखाले औँल्याएको छ। रासस

प्रकाशित: २४ जेठ २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =