‘महाशक्तिको टकरावको चेपुवामा नेपालसहित दक्षिण एसियाली मुलुक’

हिमाल प्रेस २३ जेठ २०८० २२:२८
114
SHARES
‘महाशक्तिको टकरावको चेपुवामा नेपालसहित दक्षिण एसियाली मुलुक’

काठमाडौँ- दक्षिण एसियाली मुलुक महाशक्ति राष्ट्रको टकरावको चेपुवामा पर्ने फ्रान्सका कूटनीतिक क्षेत्रका जानकारले बताएका छन्। फ्रान्सको पररास्ट्र मन्त्रालयअन्तर्गतको सरकारी थिंक ट्यांक प्रमुख सेवेरिन आर्सेनले उक्त खतरा औँल्याएकी हुन्।

उदाउँदो शक्ति र परम्परागत शक्तिको टकरावको घर्षण भइरहँदा त्यसको असर दक्षिण एसियामा पनि प्रत्यक्ष रूपमा पर्ने उनको निष्कर्ष छ। युरोपको यात्राका क्रममा दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेसँग यस क्षेत्रको अवस्थाबारे भएको छलफलमा उनले शक्ति राष्ट्रको चेपुवामा नेपालसहितका देश पर्ने औँल्याएकी हुन्। पाण्डेले त्यहाँ रहेका थिंक ट्यांकको भ्रमणका साथै यहाँको अवस्थाबारे आफ्ना धारणा राखेका थिए।

गत साता उनीहरूबीच भएको छलफलमा नेपाल पनि इन्डो प्यासिफिक रणनीति (आईपीएस) र बेल्ट एन्ड रोड इनिसियटीभ (बीआरआई)को चेपुवामा परेको समाचार आफूहरूले हेरिरहेको भन्दै उनले पाण्डेलाई नेपाल सरकारले कसरी त्यो सन्तुलन कामय गरेको भन्दै सोधेकी थिइन्।

पाण्डेले नेपाल आफैँमा असंलग्न परराष्ट्र नीति अंगालेको मुलुक हुनाले यस्ता विषयलाई त्यही ढंगले डिल गरिरहेको र अहिले पनि विवादित नै रहेको जानकारी दिएका थिए। अमेरिकी सहयोग भन्नेबित्तिकै एक फरक ढंगले हेर्ने र चीन भन्नेबित्तिकै अनेकन् आशंका गर्ने भएका कारण पनि यस्ता विषय विवादमा रहेको उनले बताएका थिए।

भारतसँग नेपालको खुला सीमा रहेको र भारतको परराष्ट्र नीति एवं कार्यले नेपाललाई पनि प्रभाव पार्ने गरेको उनको धारणा थियो। नेपाल नियाल्ने अधिकांश मुलुक दिल्लीमा रहेको र नेपालमा दूतावास भएका मुलुकले पनि दिल्लीबाट नै भिसा दिने हुँदा नागरिकसँगको सम्बन्धमा हरेक मुलुक कमजोर भएको बताएका थिए।

नेपालको सरकारी थिंक ट्यांक आईएफएको प्रमुखसमेत भइसकेका डा. पाण्डेले अहिले दक्षिण एसियाली अध्ययन केन्द्र चलाइरहेका छन्। यसको प्रकाशनदेखि कार्यक्रम लोभलाग्दो रहेको भन्दै कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरेकी राजनीतिशास्त्रकी पीएचडी आर्सेनले नेपालजस्तो मुलुक निकै होसियार रहेर अहिलेको विश्व राजनीतिमा अघि बढ्नुपर्ने बताइन्।

सोही संस्थाको दक्षिण एसिया मामिला नियाल्ने निर्देशक डा. फान्स्वाँ निकोलससँग पनि उनले छलफल गरेका थिए। नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्ध, युरोप नेपाल सम्बन्ध लगायतमा छलफल भएको पाण्डेले जानकारी दिए। नेपाल र दक्षिण एसियाको विषयमा लामै बहस भएको र त्यसमा सार्कको अवस्थाबारे समेत जानकारी लिएका थिए।

भारत सार्कमा अघि बढ्न नचाहेको विषयमा जानकार रहेका उनीहरूले नेपालले पनि सार्कलाई आफ्नो तवरले सक्रिय पार्न नसक्दा सार्कको हैसियत खुम्चिएको बताए। साथै भारत जस्तो सदस्य मुलुकले सार्कमा आफ्नो अधिकारी नपठाउनु सामान्य नभएको उनले बताइन। उनले नेपालले यसमा पहल गर्न नसके सार्कको राजधानीको हैसियत पनि नेपालले गुमाउने औँल्याइन्।

त्यहाँ अध्ययन गर्न आउने र रिसर्च अधिकारीहरुले पनि कैयन् प्रश्न पाण्डेमाथि राखेका थिए। उनले नेपालको राजनीतिक अवस्था भारतको पछिल्लो राजनीतिक चाल र चीनको प्रगतिमा भारत चीन सम्बन्ध अनि भारत अमेरिका सम्बन्ध र भारत रसिया सम्बन्धलगायतमा छलफल गरेका थिए।

उक्त छलफलमा अनुसन्धान अधिकृत जोन सिमान र उक्त थिंक ट्यंन्कमा कार्यरत अधिकृतहरू पनि उपस्थित थिए। उनीहरूले नेपालको विगतको कूटनीतिक पैरवीबारे निकै चासोका साथ प्रश्न गरेका थिए।

प्रकाशित: २३ जेठ २०८० २२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =