कोशी प्रदेश : अल्पमतमा एमाले नेतृत्वको सरकार, दलहरूको आ-आफ्नै दाबी

विवेक विवश रेग्मी २३ जेठ २०८० १९:३९
56
SHARES
कोशी प्रदेश : अल्पमतमा एमाले नेतृत्वको सरकार, दलहरूको आ-आफ्नै दाबी

इटहरी- कोशी प्रदेशसभा सरकारबाट बाहिरिने माओवादी केन्द्रले निर्णय गरेसँगै एमालेका हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। मंगलबार बसेको कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन्। माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले राजीनामा दिएका हुन्। माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन्। उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए।

यससँगै मुख्यमन्त्री कार्कीको नेतृत्वमा बनेको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ। यसअघि जसपाबाट स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूले राजीनामा दिइसकेकी छन्। अब एमालेलाई राप्रपाको मात्रै समर्थन रहेको छ। तर, एमाले र राप्रपाको सिट संख्या जोड्दा ४६ मात्रै पुग्छ। जबकि, सरकार निर्माणका लागि ४७ सिट आवश्यक पर्ने हुन्छ।

अब मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएको अवस्थामा स्वत: सरकार ढल्नेछ। अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासोको विषय रहेको समयमा दलहरूले भने आ–आफ्नै अडान राखेका छन्। माओवादीले सरकारबाट समर्थन फिर्ता लिने जनाएसँगै आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरेको छ। नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेको छ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय संसदीय दलले गरेको कांग्रेस प्रमुख सचेतक तथा पार्टी महामन्त्री भूपेन्द्र राईले जानकारी दिए। केन्द्रीय गठबन्धनमा रहेका राजनीतिक दलहरूसँग समन्वय गरेर कांग्रेस नेतृत्वको सरकार बनाउने निर्णय भएको उनको दाबी छ। उनले भने, ‘माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माण बाटो खुलेको छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ।’

यसअघि मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३ (सभामुखसहित), राप्रपाका ६ र जनता समाजवादी पार्टी (जसपा) का एकजना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा परेका छन्।

अब कांग्रेसका २९, माओवादीको १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षीका रूपमा छन्। अब सरकार निर्माणका लागि एमाले नेतृत्व र अन्य दलसँग जम्मा ४६–४६ सिट मात्र छन्। सरकार निर्माणका लागि राप्रपाको पनि भूमिका देखिने भएको छ।

अध्यादेशबाट बजेट ल्याउने तयारी

सरकार अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी थालिएको छ। नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले स्थगित गरेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको प्रतिक्रिया दिए।

माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि बुधबार नीति तथा कार्यक्रम संसद्मा पेस हुन नसकेको उनले जानकारी दिए। अध्यादेशबाट बजेट आउने कुरा पनि संविधान अनुसारकै विषय भएको उनले बताए। सरकारले बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ

प्रकाशित: २३ जेठ २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =