गाँजाखेती : आफ्नै नेताको अभियानका विपक्षमा ओली!

हिमाल प्रेस २३ जेठ २०८० १९:०९
40
SHARES
गाँजाखेती : आफ्नै नेताको अभियानका विपक्षमा ओली!

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते बजेट भाषणका क्रममा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने बताएपछि सत्ता पक्षका मात्रै होइन, विपक्षी नेताहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए।

तत्काल सकारात्मक प्रतिक्रिया जनाउनेमध्येका एक थिए, एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ। कारण तामाङ आफैँले अघिल्लो संसद्मा ‘गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका थिए।

बजेटको बुँदा नम्बर १०५ मा उल्लेख छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिनेछ।’

बजेट भाषण सकिनेबित्तिकै तामाङले सामाजिक सञ्जालमा लेखे, ‘सरकारलाई धन्यवाद गाँजाको औषधीय प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्ने’ भनेर बजेट भाषणमा नीतिगत रूपमा बोलेकोमा। अब हामी सबै भएर लागौँ। हाम्रो अभियानले सार्थकता पाउने तर्फ अगाडि बढेकोमा सबैलाई बधाई! संसद्‌मा मैले दर्ता गरेको ‘गाँजाखेती’ लाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई ब्युँताउन सबै लागौँ र गाँजाखेतीलाई वैधानिक बनाऔँ।’

सामाजिक सञ्जालमा पनि तामाङका पक्षम धेरैले समर्थन जनाएका थिए। यति मात्रै होइन तामाङले शुभेच्छुक र समर्थकलाई एसएमएस गर्दै धन्यवाद र बधाई दिएका थिए। उनले सन्देशमा लेखेका थिए, ‘गाँजाखेतीका लागि वैधानिकता पहिलो खुड्किलो, म खुसी छु, सरकारलाई धन्यवाद, हामी सबैलाई बधाई! तपाईँको समर्थनलाई धन्यवाद!’

उनै तामाङले उठाएको मुद्दालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आपत्ति जनाएका छन्। बजेटमाथिको छलफलमा मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले बजेटमा गाँजाखेतीको अध्ययन गर्ने विषय समावेश गरिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले भने, ‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने, त्यतापट्टि छैन। खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन।! ओलीले कसले गर्न खोजीको छ गाँजाखेती भनेर प्रश्न पनि गरेका छन्। ओलीले भने, ‘कसले गर्न खोजिरहेको छ? कसका लागि गाँजाखेती? अचम्म लाग्छ, गाँजाखेती कसलाई चाहियो? अहिले मान्छे दृष्टिगोचर भएको छैन। कोही छ गाँजाखेती पछाडि?’

ओलीले गाँजा खेतीको कुरा जनताको हितभन्दा परको रहेको भन्दै ‘फेन्सी’ कुरा गरिएको बताए। ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो? किन आउँछन् यस्ता फेन्सी कुरा?,’ उनले भने, ‘जनताका हितभन्दा पर यस्ता कुरा किन आउँछन्?’

प्रकाशित: २३ जेठ २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =