अर्थमन्त्रीले जबाफ नदिएसम्म सदन चल्न नदिने एमालेको अडान

हिमाल प्रेस २३ जेठ २०८० १३:५४
4
SHARES
अर्थमन्त्रीले जबाफ नदिएसम्म सदन चल्न नदिने एमालेको अडान फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेका लागि डाकिएको थियो। दलहरूबीच सहमति हुन नसक्दा बैठक १ः३० बजेका लागि सारिए पनि अझै बस्न सकेको छैन। नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेशका विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ।

संसद् भवन बानेश्वरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले बर्तौलाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा सरकारले जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘सदन सञ्चालनपूर्व सरकार यस विषयमा जवाफ दिन तयार हुन्छ भने हाउस चलाउन तयार छौँ। यस विषयमा सरकार देश, सदन र जनताप्रति जवाफदेही भएन भने बैठक सहजताका साथ जाँदैन।’

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश अख्तियार दुरुपयोग र भ्रष्टाचार भएको उनको आरोप छ। बजेट निर्माणमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि प्रश्न उठेको छ। सरकारले पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै प्रतिरक्षा गर्दै आएको छ।

यस्तै आजका लागि डाकिएको राष्ट्रियसभा बैठक बुधबार बिहानका लागि सरेको छ। विशेष कारण भन्दै स्थगित बैठक बुधबार बिहान ११:११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २३ जेठ २०८० १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =