महासंघले भन्यो– बजेटले दीर्घकालीन लगानीको सम्भावना बढायो, तत्कालको मन्दीलाई देखेन

हिमाल प्रेस २२ जेठ २०८० १८:०१
10
SHARES
महासंघले भन्यो– बजेटले दीर्घकालीन लगानीको सम्भावना बढायो, तत्कालको मन्दीलाई देखेन

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले दीर्घकालीन लगानीको सम्भावना बढेको बताएको छ।  सोमबार बजेटबारे धारणा सार्वजनिक गर्दै महासंघले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकको रूपमा लिनु सकारात्मक भएको बताएको हो।

बजेटले तत्काल बजारमा देखिएको मन्दी भने बजेटले सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ। ‘महासंघद्वारा प्रस्तुत सुझावसमेत समावेश भएको बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाए पनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न सकेको छैन,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

व्यवसायिक वातावरण सुधारका लागि वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्ति, काठको उपयोग तथा धौवादीसहित अन्य खानीको सम्भाव्यता खोजी गर्नेलगायत विषय स्वागतयोग्य भएको महासंघले जनाएको छ। वातावरणमा असर नपर्ने गरी उपयुक्त देखिएका स्थानबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् र निकासीको बाटो खोलिएकाले यसबाट व्यापार घाटा कम गर्न मद्दत पुग्ने महासंघको भनाइ छ।

२० प्रतिशत महंगो भए पनि स्वदेशी वस्तु उपयोग गर्ने, सडक ढलान गर्ने, परियोजनामा स्वदेशी उत्पादनलाई प्रश्रय दिने, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको विकास, बाँझो जमिनमा खेती गर्नेलगायतका प्रावधानले आयात प्रतिस्थापनमा सहयोग पुग्ने महासंघले विश्वास लिएको छ।

स्टार्टअप विकासका लागि विभिन्न कोषको प्रवद्र्धन र नगद अनुदान, कम्पनी खोल्न गरिएको सहजीकरणले नयाँ व्यवसायीको प्रवेश सहज बनाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
घ्यू तेललगायतको कच्चा पदार्थमा गरिएको भन्सार वृद्धिमा भने महासंघले आपत्ति जनाएको छ।

‘वनस्पती घ्यू तेललगायत उद्योगका कच्चा पदार्थमा गरिएको भन्सार वृद्धिले मूल्य बढनुका साथै उत्पादनलाई निरुत्साहित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी उद्योगको दिगो प्रवद्र्धनका लागि कच्चा पदार्थ र तयारी उत्पादनबीच कम्तीमा दुई तहको फरक हुनुपर्ने निजी क्षेत्रको मागलाई वेवास्ता गरिएको छ।’

यसैगरी महासंघले यातायातमा मूल्य अभिवृद्धि कर लगाउने प्रावधान प्रतिउत्पादक हुन सक्ने आकलन गरेको छ। त्यस्तै कतिपय कृषि उत्पादन र फलफूलमा लगाइएको मुल्य अभिवृद्धि कर संशोधन गर्न आवश्यक भएको महासंघको भनाइ छ।

प्रकाशित: २२ जेठ २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =