सचेतकहरूसँग सभामुखले भने- संसद चल्ने वातावरण मिलाउनूस्, बजेट पारित गर्नुछ

हिमाल प्रेस २२ जेठ २०८० ११:२५
8
SHARES
सचेतकहरूसँग सभामुखले भने- संसद चल्ने वातावरण मिलाउनूस्, बजेट पारित गर्नुछ

काठमाडौँ– प्रतिनिधिसभा बैठक सञ्चालनको वातावरण बनाउन सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलका प्रमुख सचेतकहरूसँग आग्रह गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट पारित गर्न धेरै समय नभएकाले बैठकमा अवरोध नगर्न सभामुखले प्रमुख सचेतकहरूसँग आग्रह गरेका हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपालगायत दलका सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए।

सोही गतिरोध हटाउन सभामुखले प्रमुख सचेतकहरूसँग सोमबार (आज) छलफल गरेका हुन्।

प्रतिपक्षी दलहरूले सदन अवरोध गर्नु परेको कारणबारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तापक्षका नेताहरूसँग छलफल गर्ने सभामुखले विश्वास दिलाएको छलफलमा सभागए एक नेताले जानकारी दिए।

सदन चलाउनेबारे दलहरूबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरू छलफलबाट निस्किएको बताइएको छ।

‘बरु दलहरूसँग छलफलका लागि समय लिनुहोस् तर हाउस चल्नुपर्छ। बजेट पारित गर्न अब धेरै समय छैन,’ छलफलमा सभामुखले भने।

प्रकाशित: २२ जेठ २०८० ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =