संसद बैठक चलाउनेबारे सभामुख-प्रधानमन्त्री संवाद

हिमाल प्रेस २२ जेठ २०८० १०:३४
10
SHARES
संसद बैठक चलाउनेबारे सभामुख-प्रधानमन्त्री संवाद फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच संसद बैठक चलाउनेबारे कुराकानी भएको छ।

आइतबार प्रतिनिधिसभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर बैठक चलाउनेबारे संवाद गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन खर्च भएको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ। अवरोध हटाउन संवाद गरौं,’ सभामुखको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले जनाएको छ।

सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद् बैठकमा आफूले यी विषयमाथि प्रष्टीकरण गर्ने जनाएका छन्।

‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त पारेका छन्।

सभामुखले प्रमुख प्रतिपक्षी एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग संवाद गर्दै सरकारले बजेट पारित गर्ने समयसीमा धेरै नरहेकाले संसद बैठकमा अवरोध नगर्न आग्रह गरेको पनि सभामुखको सचिवालयले जनाएको छ।

यता एमाले प्रमुख सचेतक गिरीले भने सदन सुचारु गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले आफूहरूसँग अहिलेसम्म कुनै छलफल नगरेको जिकिर गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपालगायत दलका सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध जनाउँदै बैठकमा अवरोध गरेका थिए।

यो पनि:

आइतबार स्थगित संसद बैठक आज बस्दै

प्रकाशित: २२ जेठ २०८० १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =