मेलम्चीमा वैकल्पिक प्रणालीको गेट मर्मत, धमिलो पानीको समस्या हट्ने

हिमाल प्रेस २२ जेठ २०८० १०:१४
18
SHARES
मेलम्चीमा वैकल्पिक प्रणालीको गेट मर्मत, धमिलो पानीको समस्या हट्ने फाइल तस्बिर।

सिन्धुपाल्चोक– मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको गेट मर्मत गरेको छ। मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र पानी धमिलो हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ।

प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

‘गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन,’ उनले भने।

आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो। पानी पथान्तरणको काम हेडवर्क्सले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ।

मंगलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो। गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।

‘सुरुमा एक तिहाइ र त्यसपछि २ तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ,’ उनले भने।

उपत्यकामा पहिलोपटक मेलम्चीको पानी ०७७ चैतमा ल्याइएको थियो। पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो।

जुन अहिलेसम्म पनि पुनःनिर्माण भइसकेको छैन। गत २ वर्ष पनि हिउँदमा मात्रै उपत्यकामा पानी ल्याइएको थियो। पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना हेडवर्क्सको क्षति भएपछि अहिले अस्थायी रूपमा पानी पथान्तरण गरेर ल्याइएको छ।

वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरूमा वर्षामा सुरुङ बन्द गरिएको थियो। यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ।

उपत्यकामा मेलम्चीको पानीका कारण हिउँदमा पानीको अभाव कम भएको छ। उपत्यकाको भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ। चक्रपथ बाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिच्छाउने काम भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =