स्वार्थका लागि सत्ताको दुरुपयोग गरियो : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २१ जेठ २०८० १३:२०
4
SHARES
स्वार्थका लागि सत्ताको दुरुपयोग गरियो : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बैठक चल्न नदिने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भारतको नयाँ संसद् भवनमा राखिएको भारतको नक्सामा समावेश गरिएको नेपाली भूमिबारे संसद्‌मा आएर जबाफ नदिएसम्म संसद् बैठक चल्न नदिने बताएका हुन्।

यसअघि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङ्देनले बोल्नका लागि समय पाएका थिए। त्यसक्रममा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति जनाउँदै त्यसलाई तत्काल संसद्‌मा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरे।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन त्यो विधेयक प्रमाणीकरण गर्नुपरेको भनेर सरकारलाई प्रश्नसमेत गरे।

‘कसको स्वार्थका लागि र कसको खुसीका लागि यो काम गरियो? यसको जबाफ चाहियो, हामी जबााफ चाहन्छौँ,’ उनले भने, ‘राष्ट्रपति भन्ने संस्थालाई जुन प्रकारले दलीय स्वार्थका लागि उपयोग गरिराखिएको छ। सत्ता स्वार्थको लागि दुरुपयोग गरिएको छ।’

यस्तै उनले रेशम चौधरीलाई दिइएको आममाफीको विषयमा आपत्ति जनाएका छन्। ‘कुनै एउटा व्यक्तिलाई अदालतको तीनवटै तहले दोषी प्रमाणित गरेर फैसलाको पूर्णपाठ नआउँदै मन्त्रिपरिषद्को सिफारिसमा, कुनै दलको सिफारिसमा आममाफी दिने भन्ने कुराले कस्तो प्रकारको नजिर बस्छ?,’ उनले भने, ‘हामीले देशलाई कुन बाटोमा पुर्‍याउन खोजिराखेका छौँ?’

अध्यक्ष लिङ्देनले सत्तास्वार्थका लागि त्यस ढंगले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम आफ्नो पार्टीलाई सह्य नहुने पनि बताए।

प्रकाशित: २१ जेठ २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =