एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : दुई विधाको मनोनयन सार्वजनिक

हिमाल प्रेस २० जेठ २०८० १७:४२
22
SHARES
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : दुई विधाको मनोनयन सार्वजनिक

धनगढी- धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ। सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले शनिबार पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरूलाई समेटेर मनोनय सार्वजनिक गरेको हो।

असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन्।

शाहीले ९औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए। फेन्सिङमा सुदूरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन्। उनले नै पहिलो पटक फेन्सिङ सिकाएका खेलाडीहरूले पहिलो सहभागितामा सुदूरपश्चिमलाई दुई कास्य पदक समेत जिताएका थिए।

आनन्दले पनि ९औँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ ५० किलो तौल समूहमा स्वर्ण जितेका थिए। सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन्। उनले प्रशिक्षण दिएका दुई जना खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कास्य पदक जितेका थिए। कामीले भारतमा भएको ईन्डो नेपाल च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए।

जियारतले उमेर समूहमा नेपाली पुरुष टीममा सहभागिता जनाउँदै २० वर्ष मुनिको साफ च्याम्पियनसीपमा उपविजेता बनेको टोलीका सदस्य हुन्।

उनले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पु¥याउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक ए डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए। उनले एफसी यू २० छनोटमा नेपाली टिमको प्रतिनिधित्व गर्दै सहभागी थिए।

न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छन्। मनिषाले ९औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समूहमा स्वर्ण पदक दिलाएकी थिइन्।

उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन्। कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन्।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। सहप्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल छ। चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बताएको छ।

त्यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ।

प्रायोजक प्रर्वद्धकहरूको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ। अवार्डमा सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ।

प्रकाशित: २० जेठ २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =