डा. बलायरको कवितासंग्रह ‘मनको बिम्बबाट’

हिमाल प्रेस १९ जेठ २०८० ११:२३
4
SHARES
डा. बलायरको कवितासंग्रह ‘मनको बिम्बबाट’

काठमाडौँ- कवि डा. रमेश बलायरको कवितास‌ंग्रह ‘मनको विम्बबाट’ लोकार्पण गरिएको छ। आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा बुधबार पुस्तकको लोकार्पण गरिएको हो।

१८८ पृष्ठको यस कवितासंग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन्। कविता संग्रहमा ३७ वटा कविता समावेश गरिएको छ।

कवि बलायरले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तीकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन्। उनले कविताहरुमार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कार्यका लागि प्रेरित गरेका छन्।

डोटीको विकट गाउँमा जन्मेका बलायरले आईओवा स्टेट युनिर्भर्सिटी अमेरिकाबाट समाजशास्त्रमा विद्यावारिधि गरेका छन्। अहिले उनी सोही युनिभर्सिटीमा सहायक प्राध्यापकको रूपमा संलग्न छन्। महिला सशक्तिकरण, साना किसान, खाद्य सुरक्षा र गरिबी निवारणजस्ता अनुसन्धानात्मक क्षेत्रमा रुचि राख्ने बलायरले अमेरिकी कांग्रेस, नेपाल सरकार, इजरायल दूतावास, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर कवि बलायरले लामो अनुभव बटुलिसकेका छन्।

कार्यक्रममा साहित्यकार डा. गोविन्द कुसुमले डोटीको विकट ठाउँमा जन्मिएर पनि लेखक बलायरले विभिन्न संघर्ष र लगनशीलताका साथ अमेरिका जस्तो देशको प्रतिष्ठित युनिभर्सिटीमा आफूलाई चिनाउनु सबै नेपालीका लागि गर्वको विषय भएको बताए। यस्तै बलायरको कवितासंग्रहले मानव जीवनको संघर्ष, साधना, लगनशीलता, र धैर्यतालाई उजागर गरेको कुसुमले बताए। उनले बलायरलाइ बधाई दिँदै आगामी दिनहरूमा साहित्य क्षेत्रमा थप कलम चलाउन आग्रह समेत गरे।

त्यस्तै आख्यानकार बुद्धिसागरले यस कवितासंग्रहले आफूलाई समेत विगतमा फर्किएर आफ्नो जीवन संघर्ष र बाल्यकाललाई नियाल्न बाध्य बनाएको बताए। उनले कविता लेखनले मानिसलाई मनोरञ्जन मात्र दिने नभई यसले मानसिक स्वास्थ्य व्यवस्थापनमा पनि उत्तिकै भूमिका खेल्ने बताए।

वोदि बुक्स एण्ड वेक्स नक्सालले सार्वजनिक गरेको कृति साझा प्रकाशनले प्रकाशनमा ल्याएको छ।

प्रकाशित: १९ जेठ २०८० ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =