राजस्व कार्यालय दमौली भवनका ठेकेदार सम्पर्कविहीन

हिमाल प्रेस १९ जेठ २०८० ११:०७
8
SHARES
राजस्व कार्यालय दमौली भवनका ठेकेदार सम्पर्कविहीन फाइल तस्बिर।

दमौली– निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ। निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन छन्।

संघीय सरकारको५ करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक/भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो। अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी ०७८ असोज २२ गते सो सम्झौता भएको हो।

०७९ साल चैतमा भवन निर्माण सक्नुपर्ने थियो। ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरु पराजुलीले जानकारी दिए। निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक-पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उनले बताए।

‘निर्माणको समय सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ, तर ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन, म्याद थप गरिएको पनि २ महिना बितिसकेको छ, अझै सम्पर्कमा आएका छैनन्,’ उनले भने।

ठेकेदारलाई हालसम्म ३ पटक पत्राचार गरिएको छ। ‘फोन सम्पर्क भएको छैन, पत्र इमेलमार्फत पठाएका छौं, अब पनि सम्पर्कमा आएन भने कानुनी उपचार खोज्छौं,’ पराजुलीले भने, ‘समयमा काम सम्पन्न नगर्ने र सम्पर्कमा आएन भने कालोसूचीमा राख्न वा कम्पनी खारेजको मागसहित पत्रचार गर्ने तयारीमा छौं।’

समयमा भवन निर्माण भएको खण्डमा सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुने प्रमुख पराजुलीले बताए। कर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई लामो समय उभिएर बस्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए।

कार्यालयको भवन निर्माण सम्पन्न भएको खण्डमा सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह तथा सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न सकिने उनले बताए। -रासस

प्रकाशित: १९ जेठ २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =