सातदोबाटोका प्रशिक्षक भन्छन् : विदेशी खेलाडी निर्देशन अनुसार खेलिरहेका छैनन्

हिमाल प्रेस १७ जेठ २०८० २३:१८
92
SHARES
सातदोबाटोका प्रशिक्षक भन्छन् : विदेशी खेलाडी निर्देशन अनुसार खेलिरहेका छैनन्

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरण सकिँदा मछिन्द्र फुटबल क्लब ११ औँ स्थानमा थियो। जम्मा एक खेल जितेको मछिन्द्र र रेलिगेसन क्षेत्रबीचको दूरी थियो, तीन अंकको।

हाल लिगमा २३ औँ चरणमा खेल भइरहेका छन्। मछिन्द्रले बुधबार मात्र आफ्नो २३ औँ खेल खेल्यो। सातदोबाटो युथ क्लबलाई ३-१ ले हराएपछि मछिन्द्रको पोल्टामा ३९ अंक जम्मा भएको छ। लगातार सात खेलमा अपराजित रहेसँगै मछिन्द्रको दोस्रो स्थानमाथिको पकड बलियो त भएको छ नै, लिगलिडर चर्च ब्वाइज युनाइटेडसँगको दूरी थप बढेको छैन। यी दुई क्लबबीच मात्र दुई अंकको फरक छ।

गएका दुई सिजन लिग च्याम्पियन बनेको मछिन्द्रले यसपालि चित्तबुझ्दो सुरुवात गरेको होइन। त्यसमाथि मुख्य प्रशिक्षक प्रवेश कटवालले चार खेलपछि राजीनामा दिँदा मछिन्द्रमा अन्योल छाएको थियो। मछिन्द्रले त्यसपछिका केही खेल सहायक प्रशिक्षक सन्तोष न्यौपानेको भरमा खेल्यो। हालका मुख्य प्रशिक्षक किशोर केसी त सातौँ चरणमा मात्र मछिन्द्रसँग जोडिएका छन्।

उनै किशोरले मछिन्द्रलाई उपाधि दाबेदार बनाएका छन्। उसो त किशोरले मछिन्द्रमा स्थिरता ल्याउने संकेत पहिलो खेलबाटै गरिसकेका थिए। संकटा क्लबलाई २-१ ले हराएर मछिन्द्रसँगको यात्रा सुरु गरेका किशोरले बीचमा समस्या पनि भोगे। समस्या थियो, खेलाडीको चोट। एक बिन्दूमा मिडफिल्डर पुजन उपरकोटीलाई समेत रक्षापंक्तिमा खेलाउन बाध्य भएका किशोर अत्तलिन चाहिँ अत्तालिएनन्।

‘म त मछिन्द्र आएकै लिग जित्ने लक्ष्य बोकेर हो। मैले आफ्नो लक्ष्य पहिलो दिन नै सुनाएको थिए। हुनसक्छ कतिपयले मलाई बहुला पनि ठाने होलान्। तर म मछिन्द्रलाई च्याम्पियन बनाउन मेहनत गर्छु,’ सातदोबाटोलाई हराएपछि किशोरले भने, ‘मलाई खेलाडीप्रति विश्वास छ। म आत्मविश्वासी हुनुको आधार भनेकौ खेलाडीको मेहनत हो। अभ्यास र खेलमा निर्देशन मानिरहेका छन्। म खुसी छु।’

किशोरको प्रशिक्षणमा मछिन्द्रले १७ खेल खेलेको छ। तीमध्ये दुईमा मात्र हार व्यहोरेको छ। १५ औँ चरणको समाप्तिमा शीर्ष चारमा प्रवेश गरेको मछिन्द्र त्यसपछि तल झरेको छैन। बरु माथि उक्लिएको छ। २० औँ खेलपछि मछिन्द्रले जावलाखेल युथ क्लबको दोस्रो स्थान खोसेको हो।

एन्फा कम्पलेक्समा सातदोबाटोमाथिको जित मछिन्द्रले यो सिजन हात पारेको नवौँ जित हो। अनि किशोरको प्रशिक्षणमा आठौँ। मछिन्द्रलाई महत्त्वपूर्ण तीन अंक दिलाउन अफिज ओलावाले ओलाडिपोले ह्याट्रिक गरे। लिगमा उनको यो दोस्रो ह्याट्रिक हो। यस सिजन दुई पटक ह्याट्रिक गर्ने खेलाडी उनी मात्र हुन्। लिगमा उनको गोल संख्या १८ पुगेको छ। उच्च गोलकर्ता बन्ने दौडमा रहेका उनलाई एफसी खुमलटारका मेसुके ओलोमौउले पछ्याइरहेका छन्। जसको नाममा १६ गोल छ।

ह्याट्रिक नायक ओलावालेले आखिरमा मछिन्द्र च्याम्पियन बन्ने विश्वास व्यक्त गरे। मछिन्द्रसँग लिग च्याम्पियन बने के ओलावालेका लागि यो नेपाली फुटबलमा सर्वाधिक सफल सिजन हुनेछ? १३ वर्षअघि नेपाली फुटबलसँग जोडिएका ओलावालाई सोधियो। ‘हेरौँ सिजनको अन्तिममा के हुन्छ। आशा छ च्याम्पियन बन्नेछौँ। त्यसपछि मात्र यो सिजन अहिलेसम्मकै उत्कृष्ट भयो कि भएन भन्न सकिन्छ,’ यसअघि २०७५ मा मनाङबाट लिग जितेका ओलावालेले जवाफ दिए।

त्यो सिजन ओलावालेले सात गोल गरेका थिए। कुल १३ चरण खेलाइएको लिगमा त्रिभुवन आर्मी क्लबका भरत खवाससँगै ओलावाले पनि उच्च गोलकर्ता बनेका थिए। यसपटक भने उनले २०७५ को भन्दा दोब्बर बढी गोल गरिसकेका छन्।

‘विदेशी खेलाडी निर्देशन अनुसार खेलिरहेका छैनन्’

मछिन्द्रसँग पराजित सातदोबाटो सातौँ स्थानमा झरेको छ। सातदोबाटो लगातार चौथो खेलमा हारेको हो। आठौँ चरण सकिँदा शीर्षस्थानमा पुगेको सातदोबाटोलाई उपाधि दाबेदार मान्न थालिएको थियो।

तर १३ औँ चरणपछि सातदोबाटो खराब लयमा छ। सातदोबाटोले पछिल्ला १० खेलमध्ये दुईमा मात्र जित हात परेको छ। फलतः सातदोबाटोसँग हाल २९ अंक छ। जुन रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबको भन्दा पाँच अंकले मात्र बढी हो।

लगातारको खराब प्रदर्शनको कारण नेपाली र विदेशी खेलाडीबीचको तालमेल अभाव भएको बताउँछन्, सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जन। ‘हामी खेलाडीलाई मोटिभेट गरिरहेको छौँ, तर उनीहरुबीच नै तालमेल हुन सकिरहेको छैन। मैदानमै एकअर्काप्रति रिसाइरहेका छन्,’ सुरजले भने, ‘खासमा विदेशी र नेपाली खेलाडीबीच तालमेल नमिलेको हो। व्यवस्थापनले टिम ह्यान्डल गर्न नसकिने अवस्था आउन लागेको देखिन्छ।’

विदेशी खेलाडीले निर्देशन अनुसारको नखेलिरहेको सुरजको दाबी थियो। ‘हामीले दिएको निर्देशन विदेशी खेलाडीले पालना गरिरहेका छैनन्। हामीले भने अनुसार खेलिरहेका छैनन्। यदि उनीहरूले नेपाली खेलाडीलाई मोटिभेट गर्न केही भनिहाले, नेपाली खेलाडी रिसाइरहेका देखिन्छन्,’ सुरजको भनाइ थियो।

प्रकाशित: १७ जेठ २०८० २३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =