कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

हिमाल प्रेस १७ जेठ २०८० १५:५५
4
SHARES
कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

इटहरी- जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताइएको छ। जसपाको प्रदेश समिति बैठकको निर्णयपछि पार्टी सरकारबाट बाहिरिएको हो। पार्टीबाट संसद्‌मा प्रतिनिधित्व गर्ने एक्ली सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री थिइन्।

आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बुधबारको बैठकमा भएको जसपा नेता रकम चेम्जोङले जानकारी दिए। समस्याको कुनै पनि निकास दिन नसक्ने देखिएपछि सरकारमा बसिरहनुको औचित्य नभएको चेम्जोङले बताए।

फागुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले प्रदेशको नाम कोशी राखेको थियो। यसप्रति असन्तुष्टि जनाउँदै ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन्।

सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारबाट जसपा बाहिरिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने जारी राखेको छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। प्रदेशमा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। एमाले र राप्रपाका ४६ सांसद छन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासँग पनि सभामुख (माओवादी केन्द्रका) बाहेक ४६ सांसद छन्।

प्रकाशित: १७ जेठ २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =