प्रधानमन्त्रीको भारत भ्रमणमा यस्ता छन् कार्यसूची

हिमाल प्रेस १७ जेठ २०८० ८:३१
8
SHARES
प्रधानमन्त्रीको भारत भ्रमणमा यस्ता छन् कार्यसूची तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार (आज) भारत प्रस्थान गरेका छन्।

मंसिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्‍यान्वयनलाई विशेष प्राथमिकतामा राखेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत गएको छ।

परराष्ट्रमन्त्री साउदकाअनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ। मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिएका छन्।

यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवम् हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ। नेपालले भ्रमणका क्रममा दीर्घकालीन रूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ। हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ।

यसैगरी नेपालले बंगलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ। बंगलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ। भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा २ देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ।

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १:२५ बजे प्रस्थान गरेका हुन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। २ देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने एक अन्तर्क्रियात्मक कार्यक्रमलाई उनले सम्बोधन गर्ने र व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ।

प्रधानमन्त्री प्रचण्डले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने छन्। भ्रमणका क्रममा उनले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरकोसमेत भ्रमण गर्ने कार्यसूची छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कंने तय भएको छ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो। यसअघि ०६५ मा पहिलोपटक र दोस्रोपटक ०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गर्नुभएको थियो। त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए।

प्रधानमन्त्रीले भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक तथा सरोकारवालासँग छलफल गरेर राष्ट्रिय सहमति बनाउने प्रयास गरेका छन्। प्रतिनिधिसभामा समेत भ्रमणबारे जानकारी गराएका छन्।

भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र २ देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए।

यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्यांक निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्यांक निर्माणका बारेमा सहमति हुनेछ।

भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री रिजालले जानकारी दिए।

कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्‍यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले बताए।

प्रकाशित: १७ जेठ २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =