बाघ संरक्षणका लागि चितवनको ठोरीमा सडक नाटक

हिमाल प्रेस १७ जेठ २०८० ७:४९
8
SHARES
बाघ संरक्षणका लागि चितवनको ठोरीमा सडक नाटक

चितवन– १९ वर्षीया अप्सरा स्यांताङलाई पाटे बाघबारे राम्रोसँग जानकारी छ। उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानबारे पनि जानकार छन्। अरूलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता उनीसँग छ। बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघबारे झन् ज्ञान बढेको बताइन्।

स्नातक तह अध्ययन गरिरहेकी स्यांताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो। बाघ संरक्षणका लागि सडक नाटक लिएर उनी अहिले आफ्नो गाउँको चोक-चौतारामा पुग्ने गरेकी छन्।

यो अभियानमा स्यांताङमात्र होइन उनीसँगै गाउँका १४ किशोरकिशोरी पनि सहभागी छन्। उनीहरूले पनि स्यांताङले जस्तै तालिम लिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको एक मात्र उपभोक्ता समिति हो निर्मल ठोरी । ‘गाउँमा बाघले निकै दुःख दिन्छ। बाघकै कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ। तर हामी बाघकै संरक्षणमा जुटेका छौं,’ स्यांताङले भनिन्, ‘हामी विवेकशील प्राणी हौं, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ।’

उनले गाउँका चोक-चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणबारे जान्ने मौका पाएको बताइन्। ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर-किशोरी सडक नाटक देखाउने अभियानमा छन्।

ठोरी गाउँपालिका-१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउँछन्। सडक नाटकमार्फत बाघबारे धेरै कुरा जान्न र अरूलाई बुझाउन सक्ने भएको उनको भनाइ छ। सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिकरूपमा घुलमिलको वातावरण सिर्जना हुने उनले बताए।

सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर-किशोरीसँगै बाघ संरक्षणको अभियानमा जुटेका छन्।

‘किशोर-किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुने देखिन्छ,’ उनले भने।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले ठोरी क्षेत्र वन्यजन्तु र त्यसमा पनि बाघ प्रभावित क्षेत्र भएको बताए। ‘यहाँ वन्यजन्तुपीडित धेरै छन्, उनले भने, ‘बाघले गाउँघरमा पसेर गाईवस्तु, बाख्रा, बंगुर खाने गरेको छ,’ उनले भने।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गाउँघरमा सचेतना जगाउन सडक नाटक प्रस्तुत गरिरहेको उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जका २२ समितिमार्फत बाघ संरक्षणका काम भइरहेको छ। वन्यजन्तु जोगाउन शिक्षा दिने योजनाका साथ युवापुस्तालाई सडक नाटकमार्फत अघि सारिएको बताए। ‘गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम कोभिडका कारण रोकिएको उनले जानकारी दिए।

‘अहिले पुनः सोही खालका अभियान सुरु गरेका छौं।’ उनले समुदायमा पुग्न सकेमात्र संरक्षण दिगो हुने भन्दै सडक नाटक प्रभावकारी बनेको छ,’ उनले भने।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले चेतनामूलक कार्यक्रमले संरक्षणमा स्थानीयको अपनत्व विकास भएको बताए। बालबालिका र युवा केन्द्रित कार्यक्रमले बाघलगायतका वन्यजन्तु संरक्षणमा प्रभावकारी भूमिका खेलेको उनले जनाए।

बाघ संरक्षणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत तराई भूपरिधि कार्यक्रम (ताल)ले सहकार्य गरेको छ। कार्यक्रमका चितवन पर्सा फिल्ड संयोजक प्रेम पौडेलले वन्यजन्तुको आनीबानी बुझेर मान्छेको व्यवहार परिवर्तन गर्न सडक नाटक देखाउने गरिएको बताए।

‘मानव र वन्यजन्तुबीचको दूरी टाढा राख्नुपर्छ,’ उनले भने, ‘नजिक भएकै कारण घटना धेरै हुने गरेको छ,’ उनले भने। तालमार्फत चेतनामूलक कार्यक्रम र आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए।

चितवन, पर्सा निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ ओहोरदोहोर गर्ने करिडोर क्षेत्र ठोरी भएकाले पनि यहाँ विशेष संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

यो ३ निकुञ्ज जोडिएको क्षेत्र पनि हो। बोलेर, पढेरभन्दा पनि सडक नाटकमार्फत जनस्तरमा देखाउँदा संरक्षणमा प्रभावकारी भूमिका देखिने उनले सुनाए। ‘सडक नाटक सबैले चासो देखाएर हेर्ने र सुन्ने गरेका छन्, यो प्रभावकारी भएकै कारण अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएका छौं,’ उनले भने। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =