काभ्रेको नमोबुद्धलाई विश्‍वसम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

हिमाल प्रेस १५ जेठ २०८० १२:१२
12
SHARES
काभ्रेको नमोबुद्धलाई विश्‍वसम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु नमोबुद्ध क्षेत्र।

काभ्रे– ऐतिहासिक एवम् पर्यटकीयस्थल नमोबुद्धलाई विश्‍वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ। नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्रलाई विश्‍वसम्पदामा सूचीकृतका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

नगरसभाको निर्णयानुसार नगरले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक एवम् वातावरणीय महत्त्व बोकेको विश्‍वप्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्‍वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको बताइएको छ।

जनताको सेवामा पहिलो वर्ष कार्यक्रममा नगरको ११ वडास्थित नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्‍वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको मेयर कुन्साङ लामाले बताए।

‘नगरसभाको निर्णयानुसार नै विश्‍वसम्पदामा सूचीकृत गर्न प्रक्रिया थालेका हौं,’ उनले भने।

पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा समेत लिइने गरिन्छ। नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको छ। नमोबुद्धलाई विश्‍वसम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो।

सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को)का नेपाल प्रतिनिधिलाई औपचारिक रूपमा अवलोकन भ्रमण गराउने योजनासमेत बनाएको छ।

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ। जुन विश्‍वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्त्वावधानमा हुनेछ। पुरातत्त्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्‍वसम्पदा सूचीमा सूचीकृत गरिएको छ। जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्।

नमोबुद्ध शान्तिका प्रतीक गौतमबुद्धको पूर्वजन्ममा राजकुमारले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो। बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा नमोबुद्धाय नमःबाट नमोबुद्ध नामकरण भएको पाइन्छ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ। हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन्। गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ।

यसैबीच नगरले नमोबुद्धलाई विश्‍वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ। रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरी काम अघि बढाइएको हो।

यसबाट नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, २ स्थानमा प्रवेशद्धार, सडकबत्ती, सौर्यबत्ती, ढुंगा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ। सुरक्षा व्यवस्थापनको लागि सिसीटिभी क्यामेरासमेत जडान गरिएको छ भने डिपिआरअनुसार थप काम अघि बढाउन संघीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको छ।

यस्तै नमोबुद्ध भगवान् घ्याँ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा संकलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ। जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा संघीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङबाट फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती व्यहोर्दै आएकाले यसप्रति विशेष ध्यान दिन थालिएको छ। पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृंखला देख्न सकिन्छ।

प्रकाशित: १५ जेठ २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =